काठमाडौँ । प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालद्वारा हालै सार्वजनिक गरिएको आर्थिक वर्ष २०७९÷८० को पत्रपत्रिका वर्गीकरणको प्रारम्भिक नतिजाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त नतिजा खारेज गरी पुनर्मूल्याङ्कन गर्न माग गरेको छ।
संगठनका महासचिव मनोज घर्तीमगरले मंगलबार जारी गरेको एक प्रेस विज्ञप्तिमा पत्रपत्रिका वर्गीकरणको नतिजालाई ‘गम्भीर त्रुटिपूर्ण, अन्याय, पूर्वाग्रही र पूर्ण पक्षपाति’ भन्दै काउन्सिलको अन्यायपूर्ण तथा संस्थागत पक्षपातको कडा शब्दमा विरोध गरिएको छ।
प्रेस सेन्टरले वर्गीकरण प्रक्रियामा ‘प्रक्रियागत अपारदर्शिता र मनोमानी कार्यशैली’ अपनाइएको आरोप लगाएको छ। संगठनका अनुसार यस नतिजाले विशेषगरी ग्रामिण भेगबाट प्रकाशित तथा साना लगानीका स्वरोजगारमूलक पत्रपत्रिका निरुत्साहित बनेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त नतिजाले पदाधिकारी चयनदेखि अन्य निर्णय प्रक्रियासम्म काउन्सिल स्वतन्त्र र निष्पक्ष हुन नसकेको तथ्य पुष्टि हुन्छ। यसले पत्रपत्रिकाको निष्पक्ष वर्गीकरणसम्बन्धी काउन्सिलको निर्णय क्षमतामा समेत गम्भीर प्रश्न उठाएको सेन्टरको ठहर छ।
प्रेस सेन्टरले पत्रपत्रिका वर्गीकरणको प्रारम्भिक नतिजालाई स्वतन्त्र, निष्पक्ष र स्थलगत अध्ययनसहित तथ्यआधारित पुनर्मूल्याङ्कन गरेर परिणाम संशोधन गर्न माग गरेको छ। यदि अन्यायपूर्ण निर्णय सच्याउन बेवास्ता गरिए, ‘पत्रकार र अन्यायमा परेका सञ्चारमाध्यमको साथमा प्रेस सेन्टर कडा कदम चाल्न बाध्य हुनेछ,’ विज्ञप्तिमा चेतावनी दिइएको छ।
अन्त्यमा, प्रेस सेन्टरले पत्रपत्रिका वर्गीकरणमा भएको विभेदविरुद्ध तथा स्वतन्त्र र निष्पक्ष पत्रकारिताको पक्षमा दृढ, स्पष्ट र अडिग रुपमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ।

