काठमाडौँ । समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझा पार्टीले रवि लामिछाने नेतृत्वको **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**सँग एकीकरण गर्ने निर्णय गरेको छ। पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारद्वारा पेश गरिएको ‘वैकल्पिक राजनीतिक दलबिचको बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’लाई सर्वसम्मत रूपमा अनुमोदन गर्दै एकीकरण प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो।
संयोजक परियारका अनुसार वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता तीव्र रूपमा बढिरहेको अवस्थामा नवयुवाहरूको ‘जेनजी विद्रोह’ आन्दोलनले दुई दलबीचको एकीकरण प्रयासलाई थप गतिशील बनाएको छ। उनले भने,
“निर्वाचनमा पहिलो शक्ति बन्दै नेपाली जनताको विकास, समृद्धि र सुशासनको चाहनालाई परिणाममुखी बनाउने लक्ष्यसहित एकीकरण गरिएको हो। यसले महत्वपूर्ण राष्ट्रिय सन्देश दिनेछ।”
पार्टीका अनुसार एकीकरणका प्राविधिक पक्षहरू दुवै दलका नेतृत्वबीचको उच्च स्तरको समझदारीको आधारमा चाँडै सहमतिमा टुंग्याइने छन्।
दुवै दलबीचको एकीकरण आगामी आइतबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत औपचारिक रूपमा घोषणा गरिने बताइएको छ।

