कलैया । यातायात व्यवस्था कार्यालय कलैयामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणको नाममा व्यापक अनियमितता र पैसाको चलखेल भएको सेवाग्राहीहरूले आरोप लगाएका छन् ।
सोमबारदेखि वितरण सुरु हुने भनिएको नयाँ स्मार्ट लाइसेन्सका लागि तोकिएकोभन्दा दोब्बर–तेब्बर रकम असुली भइरहेको सेवाग्राहीहरूको दाबी छ।
नयाँ लाइसेन्स वितरण सुरु भएसँगै कार्यालयमा बिचौलियाहरूको चलखेल अत्यधिक बढेको सेवाग्राहीहरूले गुनासो गरेका छन्।
नाम नबताउने शर्तमा एक सेवाग्राहीले ट्रायल पास गरेको ६ महिना बितिसक्दा पनि लाइसेन्स नपाएको र बिचौलियामार्फत १८ हजारदेखि २० हजार रुपैयाँ तिरेपछि मात्रै आफ्नो नाम कार्ड छपाईंको सूचीमा चढेको खुलासा गरे।
अर्का सेवाग्राहीले त लिखित र ट्रायल दुवै पास गरेका व्यक्तिबाट समेत लाइसेन्स निकाल्नका लागि १५ हजारदेखि २५ हजार रुपैयाँसम्म लेनदेन हुने गरेको दाबी गरेका छन्।
कार्यालय परिसरमा दिनहुँ बिचौलियाहरूको बिगबिगी हुने गरेको र कार्यालयका केही कर्मचारी र बाहिरका दलालहरूको मिलेमतोमा यो अवैध धन्दा मौलाएको सेवाग्राहीहरूको आरोप छ।
स्थानीय युवा सन्तोष कुशवाहाले “सामान्य प्रक्रियामा पनि पैसा नदिए लाइसेन्स आउँदैन, यो त खुलेआम लुट हो” भन्दै आक्रोश पोखे।
सेवाग्राहीहरूले यसरी सुशासनलाई लत्याउँदै भइरहेको भ्रष्टाचारप्रति स्तब्ध भएको बताउँदै प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई तत्काल हस्तक्षेप गर्न जोडदार माग गरेका छन्।
उनीहरूले तत्काल छड्के अनुगमन गरी दोषी कर्मचारी र बिचौलियालाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।
कलैयाका अगुवा समाजसेवी रामबाबु यादवले राज्यले दिने आधारभूत सेवा पनि पैसा नदिए प्राप्त नहुने अवस्थालाई लज्जास्पद भनेका छन्।
यता, कार्यालय प्रमुखले भने यस्तो कुनै गुनासो नआएको र सबै काम नियमसंगत रूपमा भइरहेको दाबी गरेका छन्। तर, सेवाग्राहीहरूले कार्यालयभित्रै खुलेआम पैसा लेनदेन भइरहेको भिडियो र प्रमाणहरू आफूहरूसँग सुरक्षित रहेको बताएका छन्।
नागरिकहरूले जिल्ला प्रशासन र प्रहरीले तत्काल कुनै कदम नचालेमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

