सिराहा । प्रहरीले सिरहाको लहानबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित एक ट्रक र दुई जना मानिसलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले करिब एक हजार पन्ध्र किलो गाँजा सहित दुईजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा ट्रक चालक र सहचालक प्रहरीले गाँजा र ट्रकसहित निम्न दुई जनालाई पक्राउ गरेको छ ।
पिक्राउ पर्नेमा सखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका वडा नं.९, छिपिधारा टोलका ट्रक चालक अन्दाजी वर्ष २४का टंक विश्वकर्मा र सोही ट्रकका सहचालक धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. ०२ का अन्दाजी २२ बर्षका खेम राना मगर रहेको जिल्ला प्रहरी कार्यालय सिराहका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश वहादुर पालले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय लहान, सिरहाबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्ग सडकखण्ड अन्तर्गत लहान नगरपालिका वडा नं. १, ट्राफिक चोकमा पश्चिम (मिर्चैया) बाट पूर्व (रुपनी) तर्फ जाँदै गरेको ना.५ ख, ३२०९ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा उक्त गाँजा फेला परेको हो।
चेकजाँचका क्रममा गाडीको चालक बस्ने क्याबिनको पछाडि बनाइएको ‘फल्स बटम’ ‘झूटो भाग’ भित्र सेतो रंगको प्लास्टिकका बोराहरूमा लुकाएर राखिएको अवस्थामा ३१ वटा बोरा गाँजा बरामद भएको थियो। बोरासहित तौल गर्दा गाँजाको कुल परिमाण १०१५.३०० किलोग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई ट्रक र बरामद गाँजासहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि मिति २०८२ मंसिर ७ गते सम्मानित सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएको छ। लागूऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक पालले जानकारी दिए ।

