वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा (२०८२ कार्तिक ७ गतेदेखि मंसिर ७ गतेसम्म) पौने चार करोड बराबरको भन्सार छलिको सामान बरामद गरेको छ । साथै १८४ जना फरार प्रतिवादीलाई पनि पक्राउ गरी फैसला कार्यान्वयनमा सक्रियता देखाएको छ ।
प्रहरीको तथ्याङ्कअनुसार, यो अवधिमा भन्सार छली र चोरी पैठारी निकासी नियन्त्रणतर्फ उल्लेख्य सफलता प्राप्त गरेको छ । राजस्व छली नियन्त्रणमा ठूलो सफलता प्रहरीले खाद्यान्न, लत्ताकपडा लगायतका विभिन्न किसिमका भन्सार छलीका सामानहरू बरामद गरी करिब ३ करोड ७५ लाख ५० हजार ५ सय ५६ रुपैयाँ बराबरको सम्पत्ति नियन्त्रणमा लिएको छ।
फरार अपराधी पक्राउ र दण्ड सजाय जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट सजाय पाई फरार रहेका १८४ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ परेकाबाट कूल ६ लाख २ हजार ३ सय १९ रुपैयाँ जरिवाना असुल गरिएको छ भने उनीहरूलाई १८ वर्ष १ महिना कैद सजाय तोकिएको छ।
लागू औषध र अवैध उत्खनन नियन्त्रण प्रहरीले लागू औषध नियन्त्रणमा पनि सक्रियता देखाएको छ। यो अवधिमा २७ किलो ४८० ग्राम गाँजासहित ४ जनालाई पक्राउ गरिएको छ। यद्यपि, खैरो हिरोइन पक्राउको विवरण स्पष्ट गरिएको छैन।
त्यस्तै, अवैध नदीजन्य उत्खनन नियन्त्रणतर्फ २५ हजार रुपैयाँ मूल्य बराबरका बालुवा लोड गरिएका ५ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ। अवैध रूपमा कटान गरिएका ६१.५ क्युबिक फिट सालको काठ पनि बरामद गरिएको छ, जसको अनुमानित मूल्य २ लाख ६६ हजार रुपैयाँ रहेको छ।
प्रहरीले नियन्त्रणमा लिएको ५०० लिटर तयारी घरेलु मदिरा नष्ट गरेको छ। हराएकामध्ये ९ जना (२ महिला, ७ बालिका र २ बालक गरी ११ जना) लाई फेला पारी उनीहरूका अभिभावकलाई जिम्मा लगाइएको छ। साथै, २ जना बालिकाको उद्धार पनि गरिएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत १०३ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्, जसबाट १० हजार २ सय ३० जना लाभान्वित भएका छन्।
प्रहरीले यो अवधिमा १७१० वटा एसआरपी (स्टेशन रुटिङ पेट्रोल) र २ वटा एलआरपी (लङ रुटिङ पेट्रोल) सञ्चालन गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले यस सफलताले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा थप मद्दत पुगेको बताउँदै आगामी दिनमा पनि अवैध गतिविधि नियन्त्रणमा सक्रियता जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

