वीरगञ्ज । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली दर्ताको आज अन्तिम दिन भएको छ। कात्तिक मसान्तसम्म रहेको समयसीमा निर्वाचन आयोगले आवश्यकता अनुसार आजसम्म लम्ब्याएको हो।
राष्ट्रिय परिचयपत्र नम्बर भएकाले नागरिकले अनलाइनमै नाम दर्ता गर्न सक्ने सुविधा छ। बायोमेट्रिक विवरण राष्ट्रिय परिचयपत्रसँग लिंक भएपछि दर्ता प्रक्रिया पूरा हुन्छ। आयोगका अनुसार हालसम्म सात लाखभन्दा बढी नयाँ मतदाता सूचीमा समावेश भइसकेका छन्।
नामावलीमा त्रुटि भएकाले सच्याउनुपर्ने मतदाताले मंसिर २१ देखि २७ गतेभित्र सुधारका लागि निवेदन दिन सक्नेछन्। झुटा विवरण, दोहोरो दर्ता, नागरिकता परित्याग वा मृत्युका घटनामा पनि सोही अवधिमा उजुरी दिन मिल्नेछ।
निवेदन आयोगको वेबसाइट वा सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत दिन सकिनेछ। छानबिनपछि पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशित हुने आयोगले जनाएको छ।
