वीरगन्ज । भारतको बिहार राज्यमा भइरहेको निर्वाचनका लागि मधेस प्रदेशसँग जोडिएको सीमानाका भोलिदेखि बन्द हुने भएको छ।
बिहार राज्यमा विधानसभा निर्वाचन अन्तर्गत मंगलबार दोस्रो चरणको मतदान हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमानाका बन्द गर्न लागिएको जनाइएको छ।
पर्सा बाहेक मधेस प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गर्दै भोलि साँझ ६ बजेदेखि मंगलबार साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाएको हो।
जिल्ला प्रशासन पर्साले भने भोली मात्रै सूचना जारी गर्ने प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए । उनका अनुसार बिहार राज्यमा हुने निर्वाचनका लागि तीन दिन बन्द गर्ने भनेर सबै जिल्ला प्रशासन कार्यालयहरुले शुक्रबार नै सूचना जारी गरेको भएपनि पर्सामा भने भोली मात्रै सूचना जारी गर्ने प्रजिअ दाहालले बताए ।
रौतहटको नेपाल–भारत सीमाक्षेत्र ३ दिनका लागि बन्द हुने भएको छ । भारतको बिहार राज्य, सीतामढी र पूर्वी चम्पारण जिल्लामा हुन लागेको दोस्रो चरणको विधानसभा निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय, रौतहटले भारतसँगको सीमा नाकामा आवागमन बन्द हुने जानकारी दिएको हो ।
नेपाल–भारत सीमा समन्वय बैठकको निर्णयानुसार कार्तिक २२ गते बेलुका ६ः०० बजे देखि २०८२ कार्तिक २५ गते बेलुका ६ः०० बजे सीमा नाका बन्द हुने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले भोलि साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म नेपाल–भारत सीमानाकामा मानवीयरआकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रुपले बन्द रहने जनाएको छ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय महोत्तरीले समेत एक सूचना जारी गर्दै बिहार राज्यको सितामढी तथा पूर्वी चम्पारण जिल्लामा दोस्रो चरणको विधानसभाको निर्वाचन हुने भएकाले सीमानाका बन्द हुने जनाएको छ।
यसअवधिमा नेपाल–भारत सीमानाकामा मानवीय र आकस्मिक सेवा बाहेकका आवागमन बन्द रहने जनाएको छ। यता नेपाल–भारत सीमानाका बन्द हुने भएपछि बिजलपुर–कुर्था–जनकपुरधाम–जयनगर रेल सेवा समेत बन्द हुने भएको छ।
नेपाल रेल्वे कम्पनी लिमिटेडले सीमानाका बन्द हुने भएकाले भारतको जयनगरसम्म पुग्ने रेल सेवा बन्द हुने जनाएको छ। सीमानाका खुलेपछि पुनः सेवा सुचारु हुने जनाएको छ।
