रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा लामो समयदेखि स्थगित योजनाहरू सञ्चालनका लागि पहल सुरु भएको छ ।
प्रारम्भदेखि नै कार्यवाहक नगर प्रमुख अनुपस्थित हुँदा नगरपालिकाका विभिन्न योजना सञ्चालन हुन सकेको थिएन ।
अब ती योजनाबारे जानकारी प्राप्त भइसकेको समयमा सुचारु गर्न पहल सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले बताए ।
नगरपालिकाका वडा अध्यक्षहरूले समयमै योजना सम्झौता, प्राविधिक मूल्याङ्कन र इस्टिमेट तयार गरी काम अघि बढाउन माग गरेका छन्। उनीहरूले प्रत्येक महिनामा एकपटक बैठक बसालेर योजनाहरूको प्रगति मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
जेन्जी पुस्ताको आन्दोलनका क्रममा नगरपालिकाको कार्यालयमा केही क्षति पुगेकाले सेवा प्रवाहमा असुविधा भएको भए पनि कार्तिक १ गतेदेखि सेवा पुनः सुचारु गरिएको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिए ।
नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अमबिया खातुनले नगरका विकास योजना तथा सेवा प्रवाहलाई कानुन अनुसार अघि बढाइने बताइन्।
उनले विगतमा रोकिएका योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित शाखा र कर्मचारीलाई निर्देशन दिइरहेको बताइन्।
प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले जनप्रतिनिधिहरूका सल्लाह सुझावका आधारमा कार्यवाहक नगर प्रमुखसँग समन्वय गरी शुक्रबार प्राप्त सुझावहरू क्रमशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
नगरपालिकाले अबदेखि योजनाहरूलाई समयमा अघि बढाउने र जनताको अपेक्षाअनुसार सेवा प्रवाहमा सुधार ल्याउने तयारी गरेको जनाएको छ।

