सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले गस्ती ड्युटीबाट फर्कदै गरेका प्रहरी जवानलाई कुटपिट तथा गालीगलौज गरेको कसुरमा दुई जना युवकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
पक्राउ पर्नेहरूमा सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ का वर्ष २१ लालु कुमार चौधरी र सोही स्थानका २२ बर्षीय विशाल चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत कार्तिक १९ गते बजार गस्ती सकेर एक्लै आफ्नो कोठातर्फ जाँदै गरेका प्रहरी जवान दीपक साह सोनारलाई दुई जना व्यक्तिले कुटपिट गरी घाइते बनाएका थिए।
पक्राउ परेका दुवै व्यक्तिमाथि ‘अभद्र व्यवहार कसुर’ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीबाट उनीहरूलाई ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते भएका प्रहरी जवानको उपचार भइरहेको जानकारी प्रहरी अधिकृत तथा प्रहरी निरीक्षक प्रमोद कुमार साहले दिए ।
