काठमाडौँ । देशमा व्याप्त असाधारण राजनीतिक अन्योल र दलहरूको कमजोर भूमिकाप्रति चिन्ता व्यक्त गर्दै तीनजना नेताहरुले प्रगतिशील देशभक्तहरुलाई एकताको आह्वान गरेका छन् ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा (एकीकृत समाजवादी) का पूर्व महासचिव घनश्याम भूसाल, र नकेपा (माओवादी) बाट अलग्गिएका प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्माले संयुक्त वक्तव्य जारी गरी सबै प्रगतिशील र देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका हुन्।
यो आह्वान भदौ २३ गतेको जेन जी आन्दोलन र त्यसपछिको राजनीतिक घटनाक्रमले निम्त्याएको सङ्कटलाई सम्बोधन गर्न केन्द्रित छ। वक्तव्यमा वर्तमान परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार खतरामा परेको उल्लेख गरिएको छ।
तीन नेताले पुरानै शैली र संरचनाको जोडजाडले समाधान ननिस्कने भन्दै देशलाई प्रगतिशील तथा लोकतान्त्रिक दिशामा गोलबन्द गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूले सार्थक संवाद र सहकार्यमार्फत बृहत् मोर्चाबन्दी गर्न सबै प्रतिबद्ध कम्युनिष्ट, समाजवादी र देशभक्तहरूलाई आह्वान गरेका छन्।
यो पहलकदमी सत्तारुढ दलहरूको हालैको एकता प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै वामपन्थी शक्तिहरूभित्र नयाँ ध्रुवीकरणको सङ्केतका रूपमा पनि हेरिएको छ।
