काठमाडौं । नेपाल प्रहरीले फेरि एकपटक आन्तरिक विवादको चित्र देखाएको छ। मधेस प्रदेशमा एआईजीले गरेको सरुवा डीआईजीले रोक्ने प्रयास गर्दा प्रहरी संगठनभित्र असन्तुष्टि बढेको छ।
मधेस प्रदेशका तत्कालीन प्रहरी प्रमुख तथा हालका एआईजी उमाप्रसाद चतुर्वेदीले एआईजीमा बढुवा सिफारिस भएपछि केही प्रहरीकर्मीलाई घरपायक सरुवा गरेका थिए। तर अहिलेका मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द प्रसाद थपलियाले ती सरुवाको रमाना रोकेका छन्।
त्यसपछि सरुवा भई नयाँ स्थानमा जान तयारी गरेका प्रहरीहरू ‘पीडित’ बनेका छन्। प्रदेश प्रहरी प्रमुखलाई प्रदेशभित्रका वरिष्ठ सईसम्म सरुवा गर्ने अधिकार हुने प्रावधान भए पनि अघिल्ला प्रमुखले गरेको सरुवा रोक्ने परम्परा नभएको मधेस प्रदेशका एक प्रहरी अधिकारीले बताएका छन्।
अर्कोतर्फ, सिनियर एआईजीको निर्णयमा हस्तक्षेप गरेर डीआईजी थपलिया विवादमा परेको प्रहरी स्रोतको दाबी छ। उनलाई मधेस प्रदेशमा वर्षौँदेखि ‘रजगज गर्दै आएका घुमुवा प्रहरीहरूलाई हटाउन नसकेको’ आरोप पनि लागेको छ।
