हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई महिलामैत्री सहर घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । यसै क्रममा मंगलबार उपमहानगरपालिकाले सहयोगी दातृ संस्था युएनओपिएससँग सम्झौता गरेको छ ।
नगर प्रमुख मिनाकुमारी लामाले यो कार्य हेटौंडाका महिला तथा दिदीबहिनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताएकी छिन् । महिलामैत्री सहर घोषणाका लागि सम्झौता गरिरहँदा नगर प्रमुख लामाले आफ्नो व्यक्तिगत सुरक्षा र सामाजिक मानसिकताप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छिन् ।
उनले ‘जेनजी आन्दोलन’ पछि उठेको एक स्थानीय सरोकारको विषयमा धारणा राख्दा आफूलाई ‘मधेश प्रदेशको विरोधी’ को आरोप लगाइएको र त्यस क्रममा फेसबुक तथा ह्वाट्सएप को ‘इनबक्स’ मा बलात्कार गर्ने धम्की का सन्देशहरू लगातार आएको सार्वजनिक गरेकी छिन् ।
उनका अनुसार, सोही विवादका सन्दर्भमा रातको समयमा फोन गरेर ‘भेटेर घटना टुङ्ग्याउने’ जस्ता प्रस्तावहरू समेत आएका थिए । ‘हरेक नगरले पहिले आफ्ना नगरवासीलाई प्राथमिकता दिनुपर्छ’ भन्ने नगर प्रमुख लामाको आफ्नो सामान्य धारणालाई लिएर अनेक किसिमका धम्की र विवादमा पारिएको उल्लेख गर्दै महिलाहरूमाथि हुने हिंसाको चिन्तनप्रति प्रश्न उठाएकी छिन् ।
एक उपमहानगरपालिकाको प्रमुखले नै निरन्तर बलात्कारको धम्की सहनुपर्ने अवस्थाले समाजमा सामान्य नारीहरूको सुरक्षा कस्तो होला भन्ने गम्भीर प्रश्न उठेको लामाले बताएकी छिन् ।
उनले स्पष्ट रूपमा भनेीक छिन्, ‘नेपाली कुनै पनि महिला सुरक्षित छैनन्’ र ‘सज्जन पुरुष’ भनिएकाहरूको अगाडि पनि नेपाली महिला खुलेआम बलात्कृत हुन सक्ने अवस्था रहेको जोखिम बारेमा सतर्क गराएकी छिन् ।
उनले आक्रोशका साथ भनेकी छिन्, ‘एउटी नारी बलात्कृत हुन जन्मिएकी होइन । एउटी नारीको उपयोगिता यौन होइन । एउटी नारीले गरेको गल्तीको सजाय बलात्कार होइन ।’
उनले महिलालाई बलात्कार मात्रै सोच्ने पुरुषहरूलाई आफ्ना आमा, दिदीबहिनी, र छोरीको पनि सम्झना गर्न आग्रह गरेकी छिन् । नगर प्रमुख लामाले महिलामैत्री सहर घोषणा गर्नु ठूलो कुरा नभई नकारात्मक चिन्तनलाई सकारात्मक मा बदल्नु नै प्रमुख चुनौती भएको धारणा राखेकी छिन् ।
सम्झौता कार्यमा सहयोग पुर्याउनुहुने युएनओपिएसका कन्ट्री डाइरेक्टर कोमल कार्की, सरोज दाहाल, र सम्पदा थापा लगायत वडा नं.८ का अध्यक्ष राम थापा, वडा ४ का अध्यक्ष नविन सिग्देल लगायत वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, इन्जिनियर बिनित ओझा लगायत नगर कर्मचारी, सरोकारवाला निकायहरू, नगरका प्रबुद्ध व्यक्तिहरू र सञ्चारकर्मीहरूप्रति उने आभार प्रकट गरेकी छिन् ।
