काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै दुवै दलका नेता तथा कार्यकर्ताहरूबीच एकताको विषयलाई लिएर चर्को वैचारिक बहस उत्पन्न भएको छ।
एकीकरणको पक्ष र विपक्षमा भइरहेको यो बहस माओवादी केन्द्रको आन्तरिक वृत्तमा समेत गहिरिएको छ। यसै सन्दर्भमा, नेकपा (माओवादी केन्द्र) का युवा नेता अभिताभबच्चन दास ‘रोहित’ ले पार्टी एकताको अनिवार्यतामा जोड दिँदै एकताको आह्वान गरेका छन्।
उनले भनेका छन्, ‘एकता नै समाजबादको मुख्य आधार हो। विभाजन समाजबादको बीउ नै उन्मुलन र नष्ट गर्नु हो। सम्पूर्ण बामपंथीहरु एक जुट भई नेपालमा हुन गइरहेको प्रतिक्रान्ती रोक्नु नै आजको आवश्यकता हो।’
उनले बामपन्थी शक्तिहरू विभाजित भइरहे समाजवादीको लक्ष्य र जनताको समृद्धिको सपनामा गम्भीर धक्का लाग्ने चेतावनी दिएका छन्।
रोहितले चेतावनीयुक्त भाषामा भनेका छन्, ‘यदि यसो भएन भने कम्युनिस्ट पार्टी नामक थापेका सबै पसल हरू बन्द त हुने नै छन। आम नेपाली जनताको समृद्धि तथा आत्मनिर्भरताको सपना पनि सयौं वर्ष पछाडि धकेलिनेछ। अहिलेको सम्पूर्ण कम्युनिष्ट पार्टीका नेताहरूको इतिहासमा कालो धब्बा लाग्नेछ। साथै सम्पूर्ण प्राप्त परिवर्तनका एजेन्डाहरू खारेज हुनेछन। नेपालमा केवल खारानी मत्रै बाँकी रहने छ।’
अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष तथा पार्टीका पर्सा क्षेत्र नम्बर २ को इञ्चार्ज भईसकेका युवा नेता रोहितले वर्तमान राजनीतिक अवस्थामा बामपन्थी शक्तिहरूले ‘सम्पूर्ण बाम एकै ठाम’ को संकल्प गर्नुको विकल्प नरहेको धारणा राखेका छन्।
उनले नेता तथा कार्यकर्ताहरूलाई सतर्क र संयम रहन आग्रह गर्दै नारामा मात्र नभई व्यवहारमै सुशासन, समृद्धि, समाजिक न्याय सहितको समाजबाद अहिले नेपाली राजनीतिको सही कार्यदिशा भएको दृढ संकल्प गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टी एकताका लागि दुवै दलका शीर्ष नेतृत्वले वार्ता टोली गठन गरी काम गरिरहेका भएपनि वैचारिक र संगठनात्मक पक्षमा रहेका मतभेदहरूले युवा पंक्तिमा विभाजन र एकताको बहसलाई थप तताएको देखिन्छ।
केही नेताहरूले हतारमा गरिने एकताभन्दा वैचारिक रूपान्तरण र पुनर्गठन आवश्यक रहेको बताइरहेका छन् भने रोहितजस्ता युवा नेताहरूले भने प्रतिक्रान्ति रोक्न तत्काल एकता गर्नुपर्नेमा जोड दिइरहेका छन्।
