काठमाडौँ, कात्तिक १३, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाललाई पार्टी फुटाएर माओवादी केन्द्रतर्फ जान खोज्नु सुहाउने कुरा नभएको बताएका छन्।
सुकेधारमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले अहिले पार्टी एकता होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने समय रहेको धारणा राखे।
“एमालेसँग विद्रोह गर्दा चार वर्षसम्म हामीले माधव कमरेडलाई साथ दिएका थियौं, अब उहाँले पार्टी फुटाएर माओवादीमा जान खोज्नु सुहाउँछ?”
— झलनाथ खनाल, सम्मानित नेता
खनालले माओवादीभित्र सैद्धान्तिक र राजनीतिक मतभेद रहेको भन्दै त्यस्तो अवस्थामा एकता गर्नु उचित नहुने बताए।
उनका अनुसार, “माओवादीभित्र पैसा छैन, कार्यालय तोडफोड भयो, आन्तरिक विवाद छ — त्यस्तो पार्टीमा जानु प्रश्नवाचक छ।”
अध्यक्ष नेपाललाई राजीनामा सुझाव
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको सन्दर्भ उठाउँदै खनालले अध्यक्ष नेपाललाई पार्टी पदबाट राजीनामा दिनुपर्ने सुझाव दिए।
उनले भने, “त्यो अख्तियार र विशेष अदालत हामीले नै बनाएका हौं, त्यसैले नैतिकताका आधारमा अध्यक्षले राजीनामा दिनुपर्छ।”
खनालले ‘जेनजी विद्रोह’ सन्दर्भमा अध्यक्ष नेपालको प्रतिवेदनलाई पनि सतही भन्दै आलोचना गरे।
उनले भने, “अध्यक्षको प्रतिवेदनले कुनै गहिराइ समातेको छैन। नेकपाको दुई तिहाइको सरकार हुँदा नै कमजोरीका कारण अहिलेको दुर्दशा आएको हो।”
पाण्डे र खतिवडाको फरक मत
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भने पार्टी एकता गर्दा संविधान संशोधनजस्ता विषयहरूलाई पनि ध्यानमा राख्नुपर्ने बताए।
“पार्टी चलाउन सकिएको छैन, अब एकता नगरी कहाँ पुगिन्छ?” पाण्डेले भने, “हाम्रो पार्टी सकिन लागेको छ, त्यसैले व्यवहारिक निर्णय आवश्यक छ।”
त्यसपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले एकता अहिलेको आवश्यकता भएको बताउँदै एकताबाट पछि हट्न नहुने धारणा राखे।
