काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र राष्ट्रिय स्वाधीनताको पक्षमा सबै माओवादी धारासहितका वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आह्वान गर्दै लेखेका छन्— “यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ। राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमानदार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव छ।”
उनका अनुसार देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ।
प्रचण्डले थप लेखेका छन्— “संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आग्रह गर्दछु।”
