वीरगंज । शनिबारदेखि सुरु भएको चारदिनीय छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न गरिएको छ । बिहान सबेरै व्रतालुहरू छठघाट, नदी, पोखरी र तलाउँमा पुगेर सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै आराधना गरेका छन् ।
छठपर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको पर्व विधिवत् रूपमा समापन भएको हो ।
वीरगंजका घडिअर्वा पोखरी, रानीघाट, मुर्ली लगायतका घाटहरूमा हजारौँ श्रद्धालुहरूको उपस्थितिमा छठपर्व उल्लासपूर्वक मनाइएको छ । श्रद्धालुहरूले परिवारको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै पूजा गरेका थिए ।
