
नयाँ नेपालको मार्गचित्रमा जेनजीको आन्दोलन ऐतिहासिक मोडमा उभिएको छ। विगत दशकमा युवा पुस्ताले भ्रष्टाचार, असक्षम नेतृत्व र निकम्मा संस्थाका विरुद्ध आवाज उठाए पनि धेरै पटक गरिएका आन्दोलनहरुले अपेक्षित परिणाम दिन सकेका थिएनन ।
राजनीतिक दलहरूको असहयोग, जवाफदेहीविहिन संसद, कानुन निर्माणमा ढिला सुस्ति र प्रशासनिक संरचनाको कमजोर भुमिकाले जनताको अपेक्षा सधै अधुरो राख्यो। सरकारका कार्यहरुले सामाजिक असमानता, रोजगारी अभाव, सेवा प्रवाहमा ढिलाइ र विकास परियोजनामा भ्रष्टाचारलाई निरन्तर बढाई रहे ।
सरकार र राजनीतिक पार्टीहरुका यीनै कमजोरीहरु जेनजी पुस्ताका लागि नयाँ दृष्टिकोण निर्माण र नेतृत्व बिकासका लागि उत्प्रेरणाको श्रोतहरु भए । प्रविधि र वैश्विक उदाहरणसँग परिचित युवा पुस्ताले लोकतन्त्रलाई जीवन पद्धतिकै रुपमा आत्मसात गर्दै असंगठीत अवस्थामा नै संगठीत भएर भ्रष्टचारको छानबीन, पारदर्शी, उत्तरदायी र दक्ष नेतृत्वको माग गर्दै आन्दोलनको गर्ने उद्घोष गरे ।
जेनजी आन्दोलनको वारेमा जानकार रहे पनि सरकारले उनीहरुसँग कुरा गर्न आवश्यक ठानेन तर उर्लदो जेनजी सागर देखे पछि अत्तालिएको गृह प्रशासनले एकै पटक निर्मता पुर्वक बल प्रयोग गर्यो जसको कारण अकल्पनिय क्षति ब्यहार्न पर्यो । सन् १९९३ को रुवाण्डाको नरसंहारलाई विर्साउने त्यो कत्लेआमवाट भडकेको समाजले गरेको आन्दोलन थेग्न नसकेर कथित दुईतिहाईको दम्भ बोकेको सरकार पतन भयो र देशमा नयाँ राजनीतिक परिदृष्य विकास भएको छ ।
मेरो बिचारमा जेनजीको आन्दोलन केवल विरोध मात्र थिएन त्यो त दीर्घकालीन सुशासन, समावेशी विकास र दिगो लोकतन्त्रको आधार तयार गर्ने प्रयासको सुरुवात थियो । त्यसकारण अव यो नयाँ परिवर्तित अवस्थालाई देश र नागरीकको पक्षमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने वारेमा १५ वटा बुँदाहरु प्रस्तुत गरिएको छ ।
१. लोकतन्त्र नेपाली समाजको जीवन पद्धति
नेपालमा लोकतन्त्र अब केवल राजनीतिक प्रणाली मात्र नभई सामाजिक जीवनशैलीकै अभिन्न हिस्सा बनीसकेको रहेछ । २०४६ को जनआन्दोलनपछि प्राप्त बहुदलीय व्यवस्थाले नेपालीलाई स्वतन्त्रता, समानता र स्वतःस्फूर्त सहभागिताको अभ्यास गर्न दियो भने नयाँ संविधान २०७२ ले संघिय संरचना, गणतन्त्र र मौलिक हक अधिकार सुनिश्चित गरेको छ । यद्यपि पछिल्ला तीन दशकमा असक्षम नेतृत्वले गर्दा राजनीतिक अस्थिरता, सरकारको छोटो आयु र भ्रष्टाचार संस्थागत भएका कारण लोकतन्त्रप्रति जनअसन्तोष भने बढेको छ। असक्षम नेताहरुका कारण पटक पटक लोकतन्त्र अपहरण भईरहदा पनि प्रत्येकपटक जनताले सडकमा उत्रिएर लोकतन्त्रलाई पुनर्जीवित गरेको इतिहासले लोकतन्त्रले नेपाली समाजमा गहिरो जरा गाडेको छ भन्ने प्रमाणित गर्दछ । राजतन्त्रको अन्त्य, गणतन्त्रको घोषणा, संघीयताको कार्यान्वयन जस्ता कुराहरु सबै जनताको बलिदान र लोकतन्त्रप्रतिको आस्थाबाट मात्र सम्भव भएका हुन्। लोकतन्त्र जीवनपद्धति भईसकेको कारण आज नेपालको कुनै पनि पुस्ता लोकतन्त्रबिनाको समाजको कल्पना गर्नै सक्दैन ।
२. उपलब्धीलाई आधार मान्ने दृष्टि
जिम्मेवार नेतृत्व र शुशासन भएको भए बितेका तीन दशकको यात्रा निकै उत्साह प्रद हुन सक्दथ्यो तर भ्रष्टचार र कुशासनका बाबजुद केही महत्वपूर्ण उपलब्धीहरूका श्रृंखलाहरु पनि संस्थागत भएका छन । गणतन्त्र स्थापनाले राजनीतिक समानताको ढोका खोल्ने र संविधान २०७२ ले मौलिक अधिकार सुनिश्चित गर्ने काम गरेकोछ । संघीय संरचनाले शासकीय शक्ति केन्द्रदेखि गाउँसम्म पु¥याउने ऐतिहासिक अवसर दिएकोछ । शासकीय शक्ति प्रत्यायोजन भएका कारणले नै स्थानीय सरकारहरूले बजेट विनियोजन, नीति निर्माण र सेवाप्रवाहमा प्रत्यक्ष भूमिका पाएका छन्। आज ७५३ वटै स्थानीय तहहरुले आफ्ना नागरिकका लागि शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगानी गर्दै आएका छन्। यी उपलब्धीहरुले सकारात्मक भविष्य निर्माणको आधार तयार गरेका छन तर सधै नकारात्मक विषयहरु मात्रै उठान गर्ने प्रवृत्तिले सकारात्मक उपलब्धीहरु पनि ओझेलमा पर्न गएका कारण पनि जन आक्रोस वढेको छ । स्मरण रहोस, छलफलहरुमा केवल असफलता र कमजोरीलाई खोज्ने र देखाउने संस्कृतिले सकारात्मक सम्भावनालाई छायामा पारेको छ भने विकासको लागि सही रणनीतिको विकासमा अवरोध ल्याएको छ । त्यसकारण उपलब्धीहरुलाई आधार मानेर नयाँ दृष्टि विकास गर्नु नै पुनर्निर्माणको पहिलो शर्त हो।
३. चुनौतीको स्वीकारोक्ति
लोकतान्त्रिक अभ्याससँगै अनेकौं चुनौतीहरू पनि देखा परेका कारण यथार्थता त्यती सजिलो छैन तर सहज बनाउन सकिन्छ । यदि विगत १० वर्षलाई मात्रै मुल्याँकन गर्ने हो भने पनि संसदले कानुन निर्माणमा ढिलाइ गर्दा नीति कार्यान्वयन अवरुद्ध भएको छ । संविधान कार्यान्वयनका लागि दुई वर्षभित्र बनाउनुपर्ने कानुनहरु मध्ये अझै पनि केही कानुनहरु बनेका छैनन् । यसबीचमा सार्वजनिक संस्थानहरूमा पारदर्शिता कमजोर देखिएको छ र राजनीतिक पदलाई पैसासँग साट्ने प्रवृत्ति मौलाएको छ । निर्वाचनमा धनबलको प्रभावले योग्य उम्मेदवारभन्दा धनी उम्मेदवारलाई प्राथमिकता दिईने गरिएकोछ । यसले जनताको आशा–विश्वासमा नकारात्मक असर परेको छ र स्थापित राजनीतिक दलहरु प्रतिको विश्वास घटेको छ भने समग्र राजनीतिक पार्टीहरु र नेताहरु प्रतिको आक्रोस चुलिएको छ । पुराना पार्टीहरु र नेताहरु प्रतिको अविश्वास, असन्तोष र आक्रोस कारण नयाँ पुस्तालाई परिवर्तनको दिशातर्फ उर्जा प्रवाह भएको स्पष्ट छ । असन्तोष केवल निराशा मात्र नभई परिवर्तनको प्रेरणा पनि हो भन्ने सन्देश जेनजी प्रति देखिएको अपार समर्थनले देखाएको कारण नै जेनजीको आन्दोलनले सकारात्मक रुपान्तरणको ढोका खोलेको छ ।
४.नयाँ पुस्ताको जागरण
नेपालको कुल जनसंख्याको करिब ५० प्रतिशत ३० वर्षभन्दा कम उमेरका छन् र यो उर्जाशिल जनसँख्या नै नयाँ नेपालकोे भविष्यको दिशा स्पष्ट गर्न सक्ने शक्ति हो । जेनजी पुस्ता अर्थात् १९९५ पछि जन्मिएका युवाहरु प्रविधिसँग नजिक, अन्तर्राष्ट्रिय सफलतासँग परिचित र असक्षम नेतृत्वलाई अस्वीकार गर्ने क्षमता भएको पुस्ता हो । राजनीति प्रति खासै चासो नदेखाएको भनेको यो पुस्ताले राजनीतिलाई सकारात्मक समाज रुपान्तरणको अस्त्रको रुपमा नै बुझेको रहेछ र उच्च स्तरीय राजनीतिक प्रणाली प्रति प्रतिबद्ध रहेछ । यो पुस्ताले लोकतन्त्र र गणतन्त्रलाई आफ्नो जीवन पद्धतिमा आत्मसात् गरिसकेका रहेछ । उनीहरूको जीवनयात्रा नै नयाँ नेपालको राजनीतिक प्रयोगसँग जोडिई सकेको रहेछ । यो पुस्ताले व्यक्तिगत स्वतन्त्रतासँगसगै सामूहिक उत्तरदायित्वलाई पनि महत्व दिदो रहेछ । हालै भएको जनआन्दोलनमा सक्रिय सहभागिता, सामाजिक सञ्जालमा प्रस्तुत अभिव्यक्तिहरु र भ्रष्टाचारविरुद्धको आवाज उनीहरूको चेतनाको प्रमाण हो। अबको राजनीतिमा यो पुस्ताको प्रभाव निर्णायक हुने निश्चित छ। यो पुस्ताले के मात्रै गर्न सक्दछ भन्ने कुरा त पुरानो पुस्ताले सोच्न सम्म पनि सक्दोरहेनछ । पुराना पुस्ताको पछौटेपन, यथास्थितीवादी र छलकपट पुर्ण रणनीतिलाई यो पुस्ताले घृणा गर्दो रहेछ । यो पुस्ताको सुझवुझ पुर्ण प्रस्तुतीहरु नै नयाँ नेपाल निर्माणका मेरुदण्ड हुन ।
५. प्रविधि र वैश्विक दृष्टिकोण
जेनजी पुस्ता सामाजिक सञ्जाल र डिजिटल प्रविधिबाट सुसज्जित छ र विश्वका विकास र प्रगतीवाट सुसुचित छ । यो पुस्ताले सिंगापुरले भ्रष्टचारको शून्य सहिष्णुता सहितको सुशासनबाट मात्र ३० वर्षमै विश्वकै प्रमुख अर्थतन्त्रमा कसरी स्थान पायो ? रुवाण्डाले त्यत्रो नरसंहारपश्चात शिक्षा, स्वास्थ्य र पर्यटनलाई आधार बनाएर अफ्रिकाको द्रुतगामी विकास गर्ने मुलुक कसरी बन्यो ? भियतनामले कृषि आधुनिकीकरण र उत्पादन क्षेत्र सुधार गरेर उच्च आय भएको राष्ट्रको श्रेणीमा कसरी प्रवेश गर्न सक्यो ? भन्ने जानाकारी राख्दछ र यतिका श्रोत र साधन तथा विश्वका दुई उदयीमान शक्तिको विचमा भएर पनि ‘किन हामीले सक्दैनौँ?’ भन्ने प्रश्न गर्न सक्ने पुस्ता हो । सही नीतिगत निर्णय, सुशासन, र पारदर्शितासहित जनशक्तिको सहि परिचालन गर्ने हो भने नेपाल पनि ५ देखी ७ वर्षमा गरिबीमुक्त राष्ट्र बन्न सक्दछ भन्ने तथ्यसँग यो पुस्ता जानाकार छ ।
६. संसदको कमजोरी र जनताको आक्रोश
सरकार बनाउने र ढाल्ने तथा एक अर्कालाई होच्याउने, जनतासँग सरोकार भएका विषयहरुलाई वास्ता नगनर्,े आवश्यक कानुन बनाउन पर्ने कुरालाई ध्यान नदिने, विभिन्न वाहनावाजी गरेर महिनौ संसद अबरुद्ध गर्ने र वर्ष भरी लगाएर एउटा कानुन पास गर्दा पनि के कानुन पास गरे भनेर थाहा नपाउने संसदहरु र दलका नेताहरुका कारण संसद एकदम बदनाम भएको छ । संविधानले तोकेको म्यादभित्र आवश्यक कानुन बनाउन नसक्दा कार्यपालिका र न्यायपालिकामा असन्तुलन देखिएको छ। भुटानी शरणार्थी घोटाला, वाइडबडी काण्ड, बालुवाटार जग्गा प्रकरणजस्ता ठूला मुद्दामा पनि संसद र सरकार मौन रहँदा जनताको विश्वास थप कमजोर भएको छ । यस्तै भ्रष्टाचार नियन्त्रणको लागि आयोगमा दर्जनौँ उजुरी परे पनि ठूला माछा सजिलै जोगिने परिपाटीले ‘कानुन सबैका लागि समान हो’ भन्ने अवधारणामाथि चोट पु¥याएको छ। यस अवस्थाले सामान्य नागरिकलाई मात्र नभई सचेत युवालाई समेत विकल्प खोज्न बाध्य बनायो र जेनजी पुस्ताले बैकल्पिक नेतृत्व खोज्यो । परिणामतः वैकल्पिक नेतृत्वको खोजीलाई जनताको आक्रोशले नयाँ उचाइमा पु¥याइरहेको छ। यस आन्दोलनले अवका दिनमा नेपालको राजनीतिमा गुणस्तरीय नेतृत्व र आचरण आवश्यक हुन्छ भन्ने सन्देस दिएको छ ।
७. नयाँ राजनीतिक संस्कृतिको आवश्यकता
पटक पटक चेतावनी दिदा पनि नेपालको वर्तमान राजनीति नेतृत्व पुरानै प्रवृत्ति, धनबल, जातीय–सामाजिक सञ्जाल र पदप्राप्तिको दौडमा अडिएको छ। यसलाई परिवर्तन नगरी नयाँ नेपाल निर्माण सम्भव छैन। ंसंविधान २०७२लाई संशोधन गरेर केही नयाँ प्रावधानहरु जस्तो शुसान र विकासको लागि भ्रष्टाचारप्रति शून्य सहिष्णुताका मापदण्डहरु, पद धारण गर्नेहरूको लागि स्पष्ट आचारसंहिता र नेतृत्वमा प्रतिस्पर्धा गर्नका लागि शिक्षा तथा योग्यता अनिवार्य गर्नै पर्नेछ। उदाहरणका लागि, संसारका प्रगतिशील मुलुकहरूले नेतृत्वलाई ‘सेवामुखी जिम्मेवारी’ भनेर परिभाषित गरेका छन्, तर नेपालमा अझै ‘सत्तामुखी अवसर’ को रूपमा व्याख्या गर्ने प्रवृत्ति छ। यदि राजनीतिलाई सेवा र जवाफदेहितासँग जोड्ने नयाँ संस्कृतिको आधार तयार गरियो भने मात्र जनताको विश्वास फिर्ता हुने निश्चित छ।
८. स्थानीय तहलाई विकासको केन्द्रको रुपमा विकास
संविधानले संघीय संरचना ल्याएर शक्ति केन्द्रदेखि गाउँसम्म पु¥याएको छ। तर अझै स्थानीय तहलाई वास्तविक विकासको केन्द्र बनाउन आवश्यक रणनीति स्पष्ट छैन। वितेको १० वर्षमा पनि संघिय निजामती ऐन नआउदा कुशासनले जरा गाडेको थियो । त्यसकारण स्थानीय तहलाई आवश्यक पर्ने कानुन अविलम्ब तयार गरी लागु गर्नु पर्दछ । संविधान संशोधन गरेर स्थानीय तहहरुलाई बिकासका केन्द्रका रुपमा विकास गर्नु पर्दछ । स्थानीय भुगोलमा गरिने सबै प्रकारका विकासहरु स्थानीय तह मार्फत गर्नु पर्दछ ।
स्थानीय तहको संगठनात्मक क्षमतालाई व्यापक सवलीकरण गरेर सबै प्रकारका विशेषज्ञता उपलब्ध गराएर पालिकाहरु र वडाहरुलाई विकास केन्द्रको रुपमा स्थापीत गर्नु पर्दछ । हाल विनियोजन गरिने विकासको करिब ७५ प्रतिशत रकम सिधै पालिकाहरु मार्फत गरिने व्यवस्था गर्नु पर्दछ । संघलाई केन्द्रिय र प्रदेस स्तरीय योजना निर्माणमा सिमित गरेर नीति निर्माण, सुरक्षा र समन्वयमा सिमित गर्नु पर्दछ । प्रदेसलाई अनुगमन तथा मुल्याँकनमा मात्रै सिमित गर्नु पर्दछ र स्थानीय तहहरुलाई स्थानीय तहको विकासमा विज्ञ संस्थाको रुपमा विकास गर्नु पर्दछ ।
सिमित विज्ञता, श्रोत र साधनका बाबजुद अहिले पनि धेरै स्थानीय सरकारहरूले विद्यालय, स्वास्थ्य चौकी, खानेपानीजस्ता क्षेत्रमा सकारात्मक काम गरेका छन् भने प्रसाशनीक सेवाहरु वडा र पालिकावाट नै उपलब्ध गराएका छन । प्रयाप्त र गुणस्तरीय जनशक्तिको अभावमा गुणस्तरीय र द्रुत सेवा उपलब्ध गराउन नसक्दा स्थानीय तहमा पनि जनआक्रोस वढ्दो छ भने विज्ञताको अभावमा विकास कार्यहरुको प्राथामिकता निर्धारण नहुदा स्थानीय उत्पादन वृद्धि हुन सकेको छैन ।
विकास एक कर्मकाण्डी र प्रशासकीय कार्य भएर रहेको छ । चमत्कारीक विकास गरेर नागरीकको जीवनमा सकारात्मक रुपान्तरण ल्याउन वडाको भुगोल र जनसंख्याको चाप अनुसार प्रत्येक वडामा कृषि प्राविधीक, ईन्जिनियर, बन तथा वातावरण प्राविधीक, सामाज परिचालन विज्ञ, कानुन अधिकृत, समावेशी विकास अधिकृत लगायत १० जनाको विज्ञ टोली आवश्यक पर्दछ । अनि मात्रै गुणस्तरीय र द्रुत विकास संभव हुन्छ । जेनजी पुस्ताले विकासको यो मोडललाई एकदम निर्भिक भएर दह्रोसँग उठाउन सकेमा मात्रै नेपाललाई संसारका युवाहरुको रोजाईको देश बनाउन सकिन्छ भने करिब ७० हजार नयाँ रोजगार एकै वर्षमा नेपालमा सिर्जना गर्न सकिन्छ ।
९. शिक्षा र योग्यता आधारित राजनीति
राजनीतिमा नेतृत्व लिन शिक्षा र योग्यता अनिवार्य बनाउनै पर्दछ । शैक्षिक योग्याको अभावमा कस्ता व्यक्तिहरु जनप्रतिनिधीहरु भएर कानुनी निर्माण र विकासको नेतृत्व गर्ने ठाउँमा पुग्दछन भन्ने कुरा नेपालकै क्याविनेट, संसद, पालिकाहरु र वडाको नेतृत्वमा हेरे पुग्दछ । विश्वका धेरै मुलुकमा नेतृत्वका लागि न्यूनतम शैक्षिक योग्यता निर्धारण गरिएको कारणले नै नीति निर्माण प्रभावकारी भएका छन । नेपालमा पनि वडाध्यक्षका लागि कम्तीमा पनि प्लस टु, पालिका प्रमुख, उपप्रमुख, संघिय र प्रदेस संसदका लागि स्नातक, राष्टिय सभा सांसद, मन्त्री वा प्रधानमन्त्रीका लागि स्नातकोत्तर अनिवार्य गर्ने व्यवस्था भए मात्र नीतिगत बहस उच्चस्तरको हुन सक्दछ र समय सापेक्ष कानुन र बिकासका गतिविधीहरु सञ्चालन हुन सक्दछन । शैक्षिक योग्यताले जनप्रतिनिधिहरुलाई नीति बुझ्न र दीर्घकालीन रणनीति बनाउन सक्षम बनाउँदछ। अहिले शिक्षाको मापदण्ड नभएकै कारण कतिपय स्थानीय सरकारहरूले बजेट सदुपयोग गर्न सकेका छैनन् भने संसदले गुणस्तरीय कानुन बनाउन सकेको छैन । त्यसैले शिक्षा र योग्यता राजनीतिक प्रवेशद्वारका आधार मानिने गरी संविधानलाई अनिवार्य रुपमा संशोधन गर्नै पर्दछ ।
१०. पदमा सीमित समयको अवधारणा
नेतृत्वलाई जीवनभर पदमा बस्ने अधिकार दिने प्रणालीले राजनीतिक स्थिरतामा मात्र नभई नयाँ पुस्ताको प्रवेशमा पनि बाधा पु¥याएको छ। नयाँ राजनीतिक संरचनामा एकपटक मात्र प्रधानमन्त्री वा मन्त्री बन्न पाउने र त्यसपछि कम्तीमा १० वर्षसम्म सल्लाहकारको भूमिकामा बस्न पाउने तर पुनः पदमा नफर्किने व्यवस्था हुनै पर्दछ । यसले नेतृत्वलाई जिम्मेवारीपूर्वक सेवा गर्ने अवसर दिन्छ र लोभबाट टाढा राख्दछ। साथै नयाँ पुस्तालाई नेतृत्वमा आउन निरन्तर अवसर खुला रहन्छ। यसले राजनीति सजीव र गतिशील रहन्छ भन्ने सुनिश्चित गर्दछ र राजनीति सधै सक्षम व्यक्तिहरुको आकर्षणको केन्द्र बन्दछ । स्थिर नेतृत्वभन्दा चलायमान नेतृत्व प्रणालीले लोकतन्त्रलाई जीवन्त राख्छ र नयाँ विचारलाई प्रश्रय दिन्छ। जेनजी आन्दोलनले नेपाली समाजमा नयाँ आशा र विश्वास जगाएको छ तर यो आन्दोलन असंगठीत भएको हुँदा यसको दिगोपना देखिदैन । त्यसकारण जेनजीले आफनो उर्जालाई संगठीत गर्न निश्चित आचारसंहिताका साथ यो आन्दोलनलाई संगठीत गरेर चुनावमा भाग लिनु पर्दछ । उदाहरणको लागी जेनजी आन्दोलनमा सहभागी हुन चहानेहरुलाई जनेजी संगठनमा सदस्यता खुला गर्नु पर्दछ तर यसको नेतृत्वमा (कार्यसमिति)३० वर्ष मुनिका युवाहरुले मात्रै गर्ने हुन पर्दछ। । यस संगठनमार्फत निर्वाचित भएका युवाहरु त्यो कार्यकाल सम्म यसै संगठनको सकृय सदस्यको रुपमा काम गर्न सक्ने तर कार्यकाल सकिए पछि स्वत सल्लाहकारको रुपमा परिणत हुने र सल्लाहकारको हैसियतमा राज्यका अन्य नियुक्तिहरुको लागि एकपट सम्म योग्य हुन सक्ने गरी आचार संहिता बनाएर आन्दोलनलाई संगठीत गरी निर्वाचनमा जानु पर्दछ । यसो गर्न सकेमा मात्र आन्दोलन सधै ताजा, शसक्त र जीवन्त रहिरहन्छ ।
११. कानुनी शासन र शान्तिपूर्ण आन्दोलन
नेपालमा अतीतका धेरैजसो आन्दोलनहरू तोडफोड, आगजनी, र जनधनको क्षतिसहित हिंसात्मक बनेका छन। राजनीति संझौताको आधारमा त्यसरी सार्वजानीक र नीजि सम्पत्ति ध्वसं गर्नेहरुले उन्मुक्ति पाएकै कारण देशमा कानुनी राज्यको प्रत्याभुति हुन सकेको छैन र यसले आन्दोलनको उद्देश्यभन्दा बढी क्षति हुने गरेको छ । समाजलाई स्थिर, शान्ति र न्यायपुर्ण राख्न कानुनी शासनलाई बलियो बनाउन जरुरी छ। तर नागरिकको शान्तिपूर्ण आन्दोलनलाई लोकतान्त्रिक अधिकारका रूपमा सम्मान गर्नुपर्दछ । यसले नागरिकलाई आवाज उठाउने अवसर दिन्छ तर हिंसालाई अस्वीकार गर्दछ । विश्वका सफल लोकतन्त्रहरूले शान्तिपूर्ण आन्दोलनलाई सुधारको प्रमुख साधनका रूपमा प्रयोग गरेका छन्। आन्दोलनको समयमा कुनै पनि बाहनामा नीजि तथा सार्वजानीक सम्पत्तिको तोडफोड स्विकार्य हुनु हुदैन । नेपालमा पनि कानुनी शासन र नागरिक चेतना मिलाएर हिंसामुक्त आन्दोलनको संस्कृतिलाई बलियो बनाउन सक्नु पर्दछ । स्मरण रहोस २४ गतेको तोडफोडमा संलग्नहरुलाई पहिचान गरी कारबाही गर्न वर्तमान अन्तरीम सरकारले पनि न्यायिक जाँचवुझ आयोग बनाएर दोषि र अपराधीहरु पत्ता लगाएर कार्वाही गर्नु पर्दछ र सरकारको यस्तो काममा सम्पुर्ण नागरीकहरु र विशेष गरी जेनजीहरुले दह्रोसँग सहयोग गर्नु पर्दछ । जेनजीहरुलाई स्मरण होस यो सरकारलाई असफल बनाउन चौतर्फी आक्रमण हुन सक्नेछ । प्रधानमन्त्री र मन्त्रिहरुको संगठीत रुपमा चरित्रहत्या गर्ने प्रयास पनि हुन सक्नेछ तर यी सबैलाई देशभरीका जेनजीहरु र उनीहरुको परिवारले कडा प्रतिवाद गरेर छदमभेषीहरुको मुकुण्डो उतार्न सक्न पर्दछ ।
१२. अन्तर्राष्ट्रिय उदाहरणको शिक्षा
हो सत्ताधारीहरुको पदलोलुपता, रक्तपिपासु प्रवृत्ति र अहंकारले हाम्रा कलिला बालबालिकाहरुले ज्यान गुमाउन पर्यो भने त्यो क्षतिको कारण भडकिएको जुलुश र अपराधी समुहको घुषपैठकको कारण देशले ठुलो जनधनको क्षति व्यहोर्न परेको छ तर अत्यन्तै नाजुक अवस्थाका बाबजुद स्थिती नियन्त्रणमा आएको छ भने समाजको सोचमा पनि व्यापक रुपान्तरण भएको छ । वर्षौ देखी भ्रष्टचारीहरुलाई सम्मान गर्दै आईरहेको समाजमा अब नयाँ तरिकाले सोचेर भ्रष्टचारीहरु र तीनका मतिहारहरुलाई घृणा गर्ने तहमा समाज पुगेको छ । संभवतः यस आन्दोलनले नेपालमा गुणस्तरीय सोच र सकारात्मक व्यवहार तर्फ समाज उन्मुख हुदैछ भन्ने विश्वास गर्न सक्ने वातावरण निर्माण गरिरहेकोछ । आन्दोलनकै दिनमा डाक्टरहरुद्धारा घाईते र विरामीहरुलाई गरिएको सहयोग, रक्तदानमा देखिएको तत्परता, आन्दोलन पछि युवाहरुको सरसफाई प्रतिको सहभागीता आदीले जिम्मेवारी र जवाफदेहीताको स्तर बढाएको देखिन्छ । बढ्दो सकारात्मक सोचका कारण नै ध्वंस भएका भौतिक संरचना वनाउन सकिन्छ भन्ने विश्वास पनि वढीरहेको छ तर त्यो भन्दा महत्वपुर्ण कुरा समाज सचेत हुदै गएको र समाजले गुणात्मक फड्को मार्न पर्ने कुरा प्रमुख हो । यदि हामीले सफल उदाहरणवाट सिक्न चाह्रयौ भने नाजुक अवस्थामा भएर पनि सिंगापुरले सुशासन र भ्रष्टाचार विरुद्धको कठोर कानुनमार्फत मात्र ३० वर्षमै विश्वकै उत्कृष्ट अर्थतन्त्रमा स्थान बनाउन सकेको थियो । एक शय दिनमा ८ लाख मानिसको कत्लेआम भएको र सारा भौतिक पुर्वाधार ध्वस्त भएको रुवाण्डाले नरसंहारपछि शिक्षा, स्वास्थ्य र पर्यटनमा लगानी गरेर अफ्रिकामा समृद्ध र स्थिर मुलुक बनेको उदाहरण देखाएको छ । युद्धको चपेटामा परेको भियतनामले कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि गरेर उच्च आय भएको राष्ट्रको श्रेणीमा प्रवेश गरिसकेको छ। यी उदाहरणहरूले नेपालका युवाहरुलाई पनि के स्पष्ट सन्देश दिन्छ भने सही नीति, इमान्दार नेतृत्व र भ्रष्टचार विरुद्ध शून्य सहिष्णुता सहितको सुशासन भए जतिसुकै संरचनाहरु ध्वंस भए पनि नेपालले ५ वर्षमै उच्च आय भएको मुलुक बन्ने बाटो समात्न सक्दछ। अन्तर्राष्ट्रिय अनुभवलाई स्थानीय आवश्यकता र सन्दर्भसँग मिलाएर प्रयोग गर्नु हाम्रो यात्राको मार्गदर्शक हुनुपर्दछ ।
१३. युवाको ऊर्जा प्रयोग गर्ने रणनीति
नेपालका हजारौँ दक्ष, इमानदार र सक्षम युवाहरू पुराना पार्टीहरुका नेताहरुको असक्षम नेतृत्वको अक्रमण्यताले ओझेलमा पारेका छन्। तर यदि ती युवाहरुले पनि नेतृत्वमा आउने अवसर पाए भने देशको ऊर्जा दोब्बर हुन सक्दछ। युवाहरुले प्रविधि, नवप्रवर्तन र पारदर्शितालाई प्राथमिकता दिन्छन्। त्यसैले पुराना पार्टीहरूले पनि आफनो पार्टी भित्र आन्तरिक छानबिन समिति बनाएर भ्रष्ट र असक्षमहरुलाई किनार लगाउने र जोशिला, जागरीला र ईमान्दार युवालाई नेतृत्वमा आउने रणनीति बनाउने हो भने यी पार्टीहरु पनि अस्तित्वमा रहिरहन सक्दछन । समग्र देश र सबै पार्टीहरुले युवाहरुको क्षमतालाई प्रयोग गर्न सक्दा राजनीतिक संस्थाहरू पुनर्जीवित भएर युवाहरुको ऊर्जा, उत्साह, तर्क र दक्षताले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाएर शुसासनमा योगदान दिन सक्दछ ।
१४. निर्वाचनमार्फत नयाँ नेपालको निर्माण
अन्ततः सबै कुरा निर्वाचनमार्फतै टुंगिन्छ । निर्वाचित संसद र सरकार भएपनि कुशासनको अखडा भएको कारण ५ वर्ष निकै लामो लागेको थियो । संसद र सरकार विचौलीया, भ्रष्टचारीहरु र सिमित पदाधीकारीहरुको लागि भए पनि नागरीकहरुको लागि थिएनन । शिक्षकहरु सडकमा बसेर गए तर संसदले शिक्षा ऐन दिन सकेन । भ्रष्टचारीहरुलाई कार्वाही गर भन्दाभन्दै नागरीक थाके उल्टो विभिन्न आवरणमा संरक्षण गरिनै रहे । न बिककास बजेट खर्च भयो न त सरकार र संसद प्रति नागरीक विश्वास नै बढ्यो । यस्तो अवस्थामा कुशासनको पुञ्जको रुपमा रहेको सरकार र प्रभावहीन संसदको औचित्य सकिएको त थियो नै त्यसमा पनि निहत्था छोरा छोरी माथी कायर रक्तपिपासुहरुको संवेदन हिन आक्रमणले ती राजनीतिक पार्टीहरुको नेतृत्वको सरकारको औचित्य नै समाप्त भएको थियो । बदलीएको यस परिस्थितीलाई पनि धमिलो बनाउन र अन्तरिम सरकार गठनमा भाजो हाल्न रचिएका प्रपञ्च निकै घृणित छन । सबै पडयन्त्रलाई परास्त गर्दै नेपाली सेना र महामहिम राष्टपतिको सुझवुझ र जेनजी भाई वहिनीहरुको देश र नागरीक प्रतिको जवाफदेहीता र सम्माननीय प्रधानमन्त्रि श्री शुशिला कार्कीको सुझबुझ पुर्ण नेतृत्वले परिस्थिती सम्हालिएको छ र तमाम निराशाका विचमा पनि आशाका किरणहरु देखिएको छ । यस परिस्थितीलाई सम्हाल्न मेयर बालेन्द्र साहको भुमिका सकारात्मक छ । नयाँ मार्गचित्र कोर्न निर्वाचनको मिति पनि घोषणा भएको छ र अव देशमा विस्तारै निर्वाचनको माहौल वन्दै जानेछ । अव हुने निर्वाचन यो देशको सकारात्मक रुपान्तरणको लागि कोशे ढुंगा सावित हुनेछ । त्यसकारण जेनजी लगायत लोकतान्त्रिक पद्धती मार्फत यो देशलाई रुपान्तरण गर्न चाहने सबै पार्टीहरुले नयाँ नेपाल निर्माणका आफ्ना मार्गचित्रहरु प्रस्तुत गरी यो निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गरेर निर्वाचन मार्फत निर्वाचित भएर आफना मार्गचित्र अनुसार देश विकासमा होमिनु पर्दछ । निर्वाचन लोकतन्त्रको मुख्य साधन भएकाले यसलाई सकारात्मक रुपान्तरणको अस्त्रको रूपमा प्रयोग गर्नु पर्दछ । निर्वाचनमा हुने स्वच्छ प्रतिस्पर्धाले प्रणालीभित्रैबाट परिवर्तन सम्भव छ भन्ने सन्देश दिन्छ।
१५. निष्कर्षः नयाँ पुस्ताको अवसर
जब जनताले धक्का दिन्छन्, तब प्रणाली बदलिन्छ भन्ने कुरा नेपालको इतिहासले पटक पटक पुष्टि गरेको छ । जनताको बलमा पञ्चायत ढल्यो, राजतन्त्र ढल्यो, र अब भ्रष्टाचार र असक्षम नेतृत्वको वर्चस्व ढल्ने क्रममा छ। अहिले जेनजी पुस्ताले ल्याएको जागरण केवल विद्रोह मात्र होइन । यो त नयाँ नेपालको पुनर्निर्माणको मार्गचित्र हो। यदि यस अवसरलाई सही ढंगले प्रयोग गर्न सक्ने हो भने नेपाल ५ वर्षमै उच्च आय भएको, सुशासनमा आधारित र हरेक नागरिकले गौरव गर्ने मुलुक बन्न सक्दछ। यस यात्रामा पुराना पुस्ताका इमानदार नेता कार्यकताहरु र नयाँ पुस्ताको ऊर्जा दुबैको सहकार्य अपरिहार्य छ । लोकतन्त्रीक गणतन्त्रको गहिरो जरोलाई अझ मजबुत बनाउँदै भविष्यतर्फ अघि बढ्नु नै सबैको साझा जिम्मेवारी हो।