वीरगन्ज । अविरल वर्षापछि जलजन्य विपद्बाट अब केही राहत भए पनि जोखिम भने अझै कायमै रहेको विज्ञहरूले बताएका छन्। जलवायु तथा विपद्विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार वर्षा कम भए पनि सडक र राजमार्ग क्षेत्रमा पहिरो तथा सडक भासिने सम्भावना उच्च छ। राजमार्गमा चिरा परेका ठाउँमा सवारीसाधनको अत्यधिक लोडले दुर्घटना निम्त्याउन सक्ने भएको सतर्कता अपनाउन आग्रह गरिएको छ ।
डा. उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभागले समयमै सूचना जारी गरेकाले जनधनको क्षति कम हुन सफल भएको हो। उनले भने, “एकद्वार सूचना प्रणाली प्रभावकारी ढंगले काम गर्दा ठूलो क्षति हुनबाट जोगियौँ। आगामी दिनमा पूर्वसूचनामा अझ लगानी बढाउनुपर्छ।”
भूगर्भविद् रञ्जन दाहालले पनि यसपटक सरकारको विपद् व्यवस्थापन कार्यलाई “व्यवस्थित र प्रभावकारी” भएको बताए। , “सरकारले मुख्य राजमार्गमा आवतजावत रोक्ने निर्णय समयमै गर्यो, जसले ठूलो जनधनको क्षति हुनबाट बचायो।” उनका अनुसार नदीनालामा बाढी आए पनि परिकल्पनाभन्दा क्षति कम भएको हो।
दाहालले दसैँ अवधिमा सवारी सञ्चालन रोकिनु नै ठूला दुर्घटनाबाट जोगिने प्रमुख कारण भएको बताए। उनले थपे, “स्थानीय तह र प्रमुख जिल्ला अधिकारीहरूको सक्रियता यसपटक प्रशंसनीय रह्यो।”
दुवै विज्ञहरूको निष्कर्ष एउटै छ—वर्षा घटे पनि पहिरो र चट्टान खस्ने जोखिम अझै कायम छ। उप्रेतीले रात्रीकालीन सवारी सञ्चालनमा विशेष ध्यान दिन आग्रह गर्दै भने, “पहिरोको जोखिम मूल्यांकन गरी सवारीसाधनलाई चरणबद्ध रूपमा मात्र पास गर्नुपर्छ। होसियारी नै अहिलेको सुरक्षा हो।” रात्रिकालीन यातायात रोक्नसके जोखिम टर्ने विज्ञहरुको भनाई छ।

