वीरगन्ज— वीरगंज महानगरपालिका क्षेत्रमा आज साँझ ९ बजेदेखि भोलि बिहान ९ बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्जका विभिन्न क्षेत्रमा कर्फ्यू लगाएको हो।
जेन–जी आन्दोलन चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जारी गरेको कर्फ्यू आदेशअनुसार वीरगञ्ज महानगरपालिकाको पूर्वतर्फ बाईपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटक्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, र घेराउ गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।
कर्फ्यु आदेशको उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ। जेनजी आन्दोलन वीरगन्जमा दिउँसो सामान्य भएपनि साँझ चर्किएको थियो । साँझ प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउदै सरकारको विरोधमा चर्को नारा लगाएका थिए । उनीहरुले वीरगन्जको माईस्थान चोकमा रहेको ट्राफिक आईल्याण्डमा समेत आगजनी गरेका छन् ।


