सप्तरी। सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँका र कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। गत जेठ २३ गते राति करिब १ बजे सुरुङ्गा नगरपालिका वडा नम्बर ८, मलहनमा टोलका ६५ वर्षीय कन्तलाल चौधरीको घरमा डाँकाहरूको समूहले धनमाल लुटेर चौधरीको गोली हानी हत्या गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, प्रहरीले विशेष सुराकीको आधारमा अनुसन्धान अगाडि बढाएको थियो। सोही क्रममा डाँकाहरूबाट चोरी गरिएका गरगहनाहरू संकलन गरी बेच्ने कार्यमा संलग्न रहेको आरोपमा सुरुङ्गा नगरपालिका वडा नम्बर ७ का राजु कुमार विश्वकर्मालाई पक्राउ गरी उनको घरमा खानतलासी गर्दा विभिन्न सुनचाँदीका गरगहना र नगद फेला परेको थियो।
विश्वकर्माको बयानका आधारमा प्रहरीले थप ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजेश कुमार मरिक, संजय मरिक, दिपेन मरिक, हरिकिसुन मरिक, दिपक मरिक, चन्दर मरिक, महेन्द्र गोड्से र उमेश साह सोनार रहेका छन्।
प्रहरीका अनुसार, मृतककी श्रीमती लराईन देवी र छोरा नन्द किशोर चौधरीले बरामद गरगहनामध्ये केही आफ्नै घरबाट लुटिएको सामान भएको सनाखत गरेका छन्। अभियुक्तहरूले चोरी गरेको गरगहनाहरू सिराहाको लहानस्थित श्रद्धा सुनचाँदी गलाई सेन्टरका महेन्द्र गोड्से र ओम ज्वेलर्सका उमेश साह सोनारलाई बेच्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले अभियुक्तहरूको साथबाट चाँदीको माठा (बाला) एक थान, बालिया एक थान, कटुवा पेस्तोल एक थान, दुई राउन्ड गोली र एक थान खुकुरी बरामद गरेको छ।
पक्राउ परेका सबैलाई डाँका तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

