वीरगञ्ज । वीरगन्जको नारायणी अस्पतालले डायलाइसिस गराउनुपर्ने सेरो पोजेटिभ (एचआईभी, हेपाटाइटिस ‘बी’ र ‘सी’ लगायत सङ्क्रमण भएका) बिरामीहरूका लागि छुट्टै बेडको विशेष व्यवस्था गरेको छ।
संवेदनशील स्वास्थ्य अवस्था भएका बिरामीहरूलाई सङ्क्रमणको जोखिमबाट जोगाउन र अन्य सामान्य बिरामीहरूसँगै सुरक्षित रूपमा सहजरूपमा उपचार सेवा प्रदान गर्न अस्पताल प्रशासनले यो कदम चालेको हो।
नारायणी अस्पताललाई अझ व्यवस्थित, आधुनिक र बिरामीमैत्री बनाउने प्रयास निरन्तर अघि बढाइएको अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताले बताए ।
पछिल्लो समय अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रविधि र पूर्वाधार सुधारका क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको उनको दावी छ।
छुट्टै बेडको व्यवस्था भएपछि नियमित डायलाइसिस गराउनुपर्ने सेरो पोजेटिभ बिरामीहरूले कुनै झन्झटविना र सुरक्षित वातावरणमा उपचार पाउने भएका छन्।
अस्पताललाई मधेस प्रदेशकै नमुना र भरपर्दो उपचार केन्द्रका रूपमा विकास गर्न यस्ता सुधारात्मक कार्यहरू निरन्तर जारी रहने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

