वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला कार्यसमितिले पूर्वमेयर विजय कुमार सरावगीलाई दिइएको साधारण सदस्यता तत्काल खारेज गर्न पार्टी केन्द्रीय कार्यालयसँग माग गरेको छ।
जिल्ला कार्यसमितिले महामन्त्री विपिन कुमार आचार्यलाई पत्र लेख्दै केन्द्रीय पोर्टलबाट जिल्ला कमिटीलाई कुनै जानकारी नै नदिई सरावगीलाई अनलाइन सदस्यता (सदस्यता नम्बर : PRS16-000435776) जारी गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
जिल्ला संगठन प्रमुख प्रमोद न्यौपाने र जिल्ला सचिव सुदिश प्रजापतिद्वारा हस्ताक्षरित पत्रमा जिल्ला, पालिका तथा वडा तहका आम पार्टी पंक्ति सरावगीको प्रवेशप्रति असन्तुष्ट रहेको उल्लेख छ।
‘पर्सा जिल्ला कमिटीलाई कुनै जानकारी नै नदिई केन्द्रीय पोर्टलबाट सदस्यता जारी गरिएको छ। यसप्रति पर्साका सम्पूर्ण पार्टी पंक्तिको घोर असहमति रहेकोले उक्त सदस्यता तत्काल खारेज गरिदिन विनम्र अनुरोध गर्दछौँ,’ पत्रमा भनिएको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य रहेका वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर सरावगीले हालै रास्वपाको अनलाइन पोर्टल मार्फत सदस्यता लिएका थिए। तर, स्थानीय नेतृत्वलाई बाइपास गरेर सदस्यता वितरण गरिएको भन्दै पर्सा रास्वपाभित्र तीव्र असन्तोष पैदा भएको छ।

