वीरगंज । वीरगंज महानगरपालिका–२० स्थित अपौनीमा वर्षौंदेखि कब्जामा रहेको सार्वजनिक जग्गा खाली गराइएपछि ठप्प बनेको अर्बौंका विकास निर्माण कार्य अघि बढ्ने भएको छ।
महानगरको सक्रियतामा सार्वजनिक जमिनमा निर्माण गरिएका अनधिकृत भौतिक संरचना मंगलबार हटाइएको हो। नगर प्रमुख राजेशमान सिंहको निर्देशन अनुसार भौतिक अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नं. ५ का अध्यक्ष प्रदीपकुमार चौरसियाको कमान्डमा खटिएको नेपाल प्रहरी र नगर प्रहरीको टोलीले अतिक्रमण हटाएको हो।
स्थानीय हृदयनारायण सिंह, लक्ष्मण पण्डित, रमेश सिंह, कृपानारायण सिंह र नन्दकिशोर पुरी लगायतका व्यक्तिहरूले लामो समयदेखि चर्चेको जमिन र त्यहाँ निर्मित घर(टहरा पूर्ण रूपमा हटाइएको महानगर प्रशासनले जनाएको छ।
सार्वजनिक जग्गा अतिक्रमणका कारण विगत ६ वर्षदेखि ठप्प बनेको करिब ८४ करोड रुपैयाँ बराबरको ठूलो विकास परियोजना अब भने सुचारु हुने भएको छ।
ठेक्का सम्झौता गरिसकेको ‘स्वच्छन्द निर्माण सेवा’ ले जग्गा विवादका कारण काम अघि बढाउन सकेको थिएन। जग्गा खाली भएसँगै निर्माण कार्य तत्काल अघि बढाउने बाटो खुलेको छ।
लामो समयदेखि ओझेलमा परेको विकासले रूप लिने भएपछि स्थानीय बासिन्दाहरूले महानगरको यस कदमको प्रशंसा गर्दै खुसी व्यक्त गरेका छन्।

