बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको घटनामा प्रहरीले मुख्य अभियुक्तसहित ६ जनालाई पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ।
शनिबार साँझ ५ः३० बजे जीतपुर सिमरा–२ बस्ने ३५ वर्षीय शेरबहादुर खड्कामाथि सोही उपमहानगरपालिका वडा नं.–१६ चरनेका २२ वर्षीय आयुष राईले चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट घाँटीमा गम्भीर चोट लागेका खड्कालाई तत्काल उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएकोमा उपचारका क्रममा साँझ ६ः४० बजे खड्काको मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका मुख्य अभियुक्त राईलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले सोही राति १०ः०० बजे जीतपुर सिमरा–१६ महेन्द्रनगरस्थित धान खेतबाट नियन्त्रणमा लिएको थियो।प्रहरीले घटनामा संलग्न तथा शंकास्पद अन्य ५ जनालाई समेत पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पर्सा ठोरी–१ घर भई हाल जीतपुर सिमरा–२ बस्ने ३४ वर्षीया रत्न पाख्रिन तामाङ, जीतपुर सिमरा–२ बस्ने राम बहादुर तिमिल्सिना, सोही वडाका २३ वर्षीय पासाङ तामाङ, जीतपुर सिमरा–१६ बस्ने ३१ वर्षीया शान्ति राई र सोही ठाउँकी ४० वर्षीया सीता थापा मगर रहेका छन्।
पक्राउ परेका सबै जनामाथि ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर इलाका प्रहरी कार्यालय सिमराबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।

