जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित एक घरमा गएराति आगलागी हुँदा एक पूर्वशिक्षकको जलेर मृत्यु भएको छ।
महोत्तरीको लोहारपट्टी नगरपालिका–२ घर भएका ७० वर्षीय अवकाशप्राप्त शिक्षक किशोरी सहनीको घरभित्रै जलेर मृत्यु भएको हो।
राति अचानक सल्केको आगोका कारण भाग्न नसक्दा सहनीको घटनास्थलमै ज्यान गएको स्थानीयले बताएका छन्। आगलागी हुँदै गर्दा घरमै रहेकी उनकी नातिनीले भने भागेर ज्यान जोगाउन सफल भएकी छन्।
प्रारम्भिक अनुमानअनुसार विद्युत् सट भएर आगलागी भएको हुनसक्ने धनुषा प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा पुगेर प्रहरीले घटनाको थप अनुसन्धान तथा क्षति विवरण संकलन गरिरहेको छ।

