वीरगन्ज । विशेष अदालतले सफाई दिएपछि पुर्नबहाली भएका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कर्मचारीलाई चेतावनीदेखि सांसदलाई चुनौती दिएका छन् ।
पुर्नबहालीपछि समर्थक, शुभचिन्तकहरुलाई धन्यवाद दिदै मेयर सिंहले केही कर्मचारीहरुले अख्तियारमा मुद्दा दिन सहयोग गरेको र महानगरपालिकाको विकासमा समेत अवरुद्ध पार्न खोजेको भन्दै उनले अब भलादमी जस्तो बस्न चेतावनी दिएका हुन् ।
उनले आफू निलम्बनमा रहेको बेला राजस्व शाखामा एक एक हप्तामा टोकन सिस्टम लगाएर सेवाग्राहीलाई दुःख दिएको जानकारी पाएको भन्दै त्यो तुरुन्त खारेज गर्न निर्देशन दिए ।
कर्मचारीहरुले आ–आफ्नो जिम्मेवारीमा रहेर इमान्दारीका साथ काम गर्न निर्देशन दिदै अब कसैले दायाँबायाँ गरे त्यसले दण्ड सजाय भोग्न तयार रहन चेतावनी दिए ।
त्यस्तै महानगरमा चरम भ्रष्टाचार भयो भनेर प्रचार गर्नेहरुलाई अख्तियार बोलाएर सबै कागजात जफत गराउन चेतावनी दिए ।
पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि प्रसाद (हरि) पन्त सदनमा भ्रष्टाचार भएको कुरा उठाएको प्रसँगको जवाफ दिदै महानगरपालिकामा अहिलेसम्म उपसचिवहरुको दरबन्दी रहेको महाशाखाहरुमा कर्मचारी पदपूर्ति गर्न नसक्ने र वीरगन्ज महानगरको विकासका लागि सहयोग नगरेको भन्दै भ्रष्टाचारको फाईल अख्तियारलाई बुझाएर आफू र अघिल्लो कार्यकालका मेयर विजय कुमार सरावगीलाई हतकडी लाउन चुनौती दिए ।
उनले वीरगन्जका केही राजनीतिक आवरणमा नालाको किरा जस्तै फोहोरमा रम्ने प्रवृत्ति रहेको भन्दै त्यस्ता फोहोरका किराहरुलाई अब वीरगन्जका जनता किटनाषक विषादी बनेर फोहोरको किरालाई नियन्त्रण गर्नुपर्ने बताए ।
आफू विरुद्ध केही सञ्चार माध्यम र पत्रकारहरुपनि लागि परेको भन्दै उनीहरुको पत्रकारिता र विश्वसनीयतामा समेत अब आम नागरिकले प्रश्न उठाउने ठाउँ बनाएको बताए ।
वीरगन्जको विकासका लागि सबैलाई सहयोग गर्न आग्रह गर्दै मेयर सिंहले आफूले सत्यको जितमा विश्वास गर्दै आएको बताउदै भने, ‘मैले सधैं भन्ने गरेको छु, …मालिकके हातमे देर बा अँधेर नही’ सम्पूर्ण वीरगन्जवासीको आर्शिवाद, माया र सदभाव तथा विशेष अदालतको निष्पक्ष न्यायले पूर्ण सफाई पाएको बताउदै यसले आफूलाई थप इमान्दारिताका साथ काम गर्न हौसला बढाएको बताए ।

