काठमाडौं । रसुवागढी तथा भोटेकोशी बाढी दुर्घटनाका मृतक तथा बेपत्ता नागरिकहरूको वैज्ञानिक पहिचानका लागि प्राप्त डीएनए नमूनाहरूको परीक्षण कार्य तीब्र भइरहेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्र) अन्तर्गतको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण भईरहेको हो । प्रयोगशालाले भदौ १६ देखि प्राप्त नमुनाहरूको सांख्यिकीय विवरण सार्वजनिक गरेको छ।
हालसम्मको अद्यावधिक विवरण अनुसार कुल प्राप्त नमुनाहरूमा ५२७ प्रशोधन गरिएका नमुनाहरू, २८१ प्रशोधनको क्रममा रहेका नमुनाहरू, १५२प्राप्त डीएनए प्रोफाइल नतिजा, १२९ नमुनाको वर्गीकरण, रिफरेन्स नमुना (आफन्तको नमुना) ४१२ मृतक र शंकास्पद अंगको नमुना ११५ रहेको जनाएको छ ।
प्रयोगशालाको हालको प्राविधिक क्षमता अनुसार हप्तामा ३०० देखि ४०० वटा रिफरेन्स नमुना र ४० देखि ५० वटा मृतकका नमुना परीक्षण गर्न सकिन्छ।
बाढीमा परेर पहिचान नखुलेका शव वा भेटिएका शारीरिक अंगहरूको डिएनए आफन्तहरूसँग मिलाएर पहिचान स्थापित गर्ने कार्य द्रुत गतिमा अघि बढाइएको छ।

