महोत्तरी । तीनवटा शिक्षक सङ्गठनहरू एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र अखिल नेपाल शिक्षक सङ्गठनबीच मधेस प्रदेशस्तरीय बृहत् एकता भेला सम्पन्न भएको छ।
महोत्तरीको बर्दिबासस्थित श्री जनता माध्यमिक विद्यालय गौरीडाँडामा आयोजित उक्त भेला भव्य र सभ्य रूपमा सम्पन्न भएको हो।
नेपाल शिक्षक सङ्गठनका केन्द्रीय संयोजक शंकर अधिकारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा केन्द्रीय सचिव हरिदेव यादवको विशिष्ट आतिथ्य रहेको थियो।
मधेस प्रदेशका संयोजक भूप नारायण अधिकारीको अध्यक्षतामा भएको भेलामा इन्चार्ज, सह–इन्चार्जका साथै तीनवटै सङ्गठनका प्रदेश समितिका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
समारोहमा बोल्दै प्रमुख अतिथि शंकर अधिकारीले शिक्षकहरूको पेशागत सम्मान, अधिकार र सुरक्षाको सुनिश्चितताका लागि घटक सङ्गठनहरूबीचको एकता ऐतिहासिक कदम भएको बताए।
भेलाले सार्वजनिक शिक्षाको सुदृढीकरण, शिक्षामा समान पहुँच, गुणस्तरीय शिक्षाको प्रत्याभूति, श्रमको सम्मान र समाजको प्रगतिशील रूपान्तरणलाई आफ्नो साझा उद्देश्यका रूपमा आत्मसात् गरेको छ।
एकता भेलामार्फत कार्यदिशा, सङ्गठन निर्माण, आन्दोलन र शिक्षकका साझा मुद्दामा निरन्तर सङ्घर्ष गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यस ऐतिहासिक एकताले मधेस प्रदेशमा शिक्षक अधिकार तथा शैक्षिक सुधारको अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

