जनकपुरधाम । मधेश केन्द्रित राजनीतिक दलहरूको बहुदलीय सञ्जाल ‘अग्रगामी मोर्चा’को संगठन विस्तार र प्रादेशिक भेला गर्ने निर्णय गरेकाे छ ।
जनकपुरस्थित जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रादेशिक कार्यालयमा शुक्रबार सम्पन्न भएको माेर्चाकाे बैठकले संगठन विस्तार र भेला गर्ने निर्णय गरेकाे हाे ।
उक्त बैठकले मोर्चाको सङ्गठन सुदृढीकरण, जनपरिचालन र समन्वय विस्तारका लागि तपसिल बमोजिमका महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ ।
जिल्ला समन्वय समिति गठन: मधेश प्रदेशका आठै जिल्लामा समन्वय समिति गठन गर्नका लागि आगामी २०८३ भदौ १० गते बैठक बस्ने र समन्वय समितिको काम पूरा गर्ने निर्णय गरिएको छ।
जनकपुर भेला तथा प्रशिक्षण:
मोर्चाको सङ्गठनात्मक सुदृढीकरणका लागि २०८३ भदौ २७ गते जनकपुरमा संयुक्त प्रादेशिक भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ।
वीरगञ्ज भेला तथा प्रशिक्षण:
आगामी २०८३ असोज ३ गते वीरगञ्जमा विशाल क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ।
मोर्चाले प्रदेशका आठै जिल्लामा जिल्ला समन्वय समिति गठनको जिम्मेवारीसमेत घटक दलहरूबिच कार्यविभाजन गरी बाँडफाँट गरिसकेको बैठकमा सहभागी प्रलाेपाका मधेस अध्यक्ष अमिताभ बच्चन दासले जानकारी दिए ।
जसपा नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव तथा पार्टी उपाध्यक्ष एवम् पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलको विशेष उपस्थितिमा उक्त बैठक सम्पन्न भएको हो।
जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवकाे अध्यक्षतामा सम्पन्न बैठकमा प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रदेश इन्चार्ज रामपृत यादव र प्रदेश अध्यक्ष अमिताभ बच्चन दास, आम जनता पार्टी (आजपा)का प्रदेश अध्यक्ष उमेश कुशवाहा,
नागरिक उन्मुक्ति पार्टीका प्रदेश अध्यक्ष पृथ्बी नारायण सिंह चौधरी, जनमत पार्टीका गजानन्द यादव, नेपाल सङ्घीय समाजवादी पार्टीका सैदर अन्सारी,
बहुजन एकता पार्टीका प्रकाश महरा तथा नेपाल जनमुक्ति पार्टीका भुवन थापा मगर लगायत विभिन्न घटक दलका प्रादेशिक नेतृत्वको सहभागिता रहेको थियो।

