वीरगन्ज । वीरगन्जमा रगत अभाव हुँदा बिरामीहरु प्रभावित भएका छन् । रत्तदान कार्यक्रमको आयोजना न्यून हुँदा रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएर वीरगन्जको नारायणी अस्पताल सहित सबै निजी अस्पतालमा उपचार गराईरहेका बिरामीहरु प्रभावित भएका हुन् ।
विगतमा जस्तो अहिले रक्तदान कम हुँदा वीरगन्जको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको केन्द्रका प्राविधिक प्रमुख शौरभराज पाण्डेयले बताए । उनका अनुसार विगतमा धेरै संघसंस्थाहरुले रक्तदान गर्ने गरेका थिए ।
पछिल्लो समयमा संघसंस्थाहरुले पनि रक्तदानको आयोजना नगरेका कारण केन्द्रमा रगतको अभाव भएको हो । यो साउन महिनामा जम्मा दुईवटा संस्थाले मात्रै रक्तदान गरेका छन् । त्यसबाट जम्मा एकसय पोका रगत संकलन भएको छ ।
तर, वीरगन्जमा दैनिक एकसय रगत आवश्यक पर्ने गरेको छ । वीरगन्जको सडक विस्तारका लागि गरिएको तोडफोडले संरचनाहरु भत्किँदा अनुकुल स्थानको अभावले पनि रक्तदानको आयोजना कम भएको प्राविधिक प्रमुख पाण्डेको भनाई छ ।
विभिन्न संघ संस्थाहरुलाई पटक पटक रक्तदान आयोजना गर्न अनुरोध गर्दा समेत अहिले रक्तदान आयोजना भएका छैनन् ।अस्पतालहरुबाट दैनिक ६० देखि ८० पोकासम्म रगतको माग भईरहेको छ ।
दिनमा एक पोका पनि रगत संकलन नहुँदा रगत आपूर्तिमा समस्या भएको प्राविधिक प्रमुख पाण्डेयले बताए । गर्मी महिना असाध्यै गर्मी हुने र मौसम पनि प्रतिकूल हुँदा सहरकेन्द्रीत रक्तदानहरु पनि कम हुँदा रगतको अभाव हुन गएको हो ।
गतबर्षको भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिवेशले रक्तदान गर्ने संघसंस्थाहरु पनि निष्क्रिय भएका छन् ।
फागुन २१ गते फागुनमा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई सबैभन्दा ठूलो दल बनाएपछि बनेको बालेन नेतृत्वको सरकारले विभिन्न राजनीतिक दलका भातृ संघ संगठनहरु खारेज गर्ने निर्णयपछि रक्तदान गर्ने संघ संस्थाहरुको निष्क्रियता देखिएको हो ।
विभिन्न संघ संगठनहरुले विभिन्न समयमा रक्तदान गर्दै आएका थिए । बदलिँदो राजनीतिक परिस्थितिका कारण रक्तदान कार्यक्रम पनि प्रभावित हुँदा रक्तसञ्चार केन्द्रमा रगतको अभाव देखिएको हो ।

