वीरगञ्ज । पर्सा जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तथा जरिवाना ठहर भई फरार रहँदै आएका १३ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरी अदालतमा दाखिला गराएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लका अनुसार फैसला कार्यान्वयन अभियान अन्तर्गत पक्राउ परेकाहरूमा चेक अनादर मुद्दाका ६ जना, घरेलु हिंसाका ३ जना, कुटपिट मुद्दाका २ जना, चोरी मुद्दाका १ जना र बिगो भरी भराउ मुद्दाका १ जना रहेका छन्।
पक्राउ परेका प्रतिवादीहरूबाट कुल २ वर्ष कैद सजाय भुक्तानी र ३३ हजार ५ सय रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
जसमा बिगो भरी भराउ मुद्दाका १ जनालाई २ वर्ष कैद सजाय सुनाइएको छ भने अन्य मुद्दाका प्रतिवादीहरूबाट तोकिएको जरिवाना रकम असुल गर्न अदालतमा पेस गरिएको हो।

