वीरगञ्ज । नारायणी अस्पतालमा शनिबार घटेको घटना छानविनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । अस्पतालमा बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समिति गठन गर्ने निर्णय गरेको हो।
छानबिन समितिमा नारायणी अस्पतालका डा. निरज कुमार सिंह, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि विनय कुमार गुप्ता, वडा नम्बर २५ का अध्यक्ष आशुतोष चर्तुवेदी, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदी, मृतकका आफन्त विकास पटेल र अस्पताल प्रशासनका प्रतिनिधि सुनिल कुमार रौनियार रहेका छन्।

त्यस्तै घटना घटेको समयमा आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई छानबिनको अन्तिम प्रतिवेदन नआउञ्जेलसम्मका लागि जिम्मेवारीबाट हटाइएको छ।
जिम्मेवारीबाट हटाइएकाहरूमा डा. प्रमोद राम, डा. राम किशोर सिंह, प्रहलाद प्रसाद, नरेश कुमार चौधरी र आस्था यादव रहेका छन्। छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा उनीहरूमाथि थप कारबाही तथा प्रक्रिया अघि बढाइने निर्णय भएको छ।
बैठकले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गरेको छ। सहमति भएसँगै मृतक पक्षले शव बुझेर पोष्टमार्टम गराई धार्मिक परम्परा अनुसार दाहसंस्कार गर्ने भएका छन्।
यसैबीच नारायणी अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै नियमित रूपमा सेवा सुचारु राखिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

