निजगढ । बाराको निजगढ नगरपालिकामा ११ स्थानमा निशुल्क आँखा शिविर तथा निःशुल्क शल्यक्रिया अभियान सञ्चाजन गरिएको छ ।
निजगढ नगरपालिका र निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालबीच भएको सम्झौता अनुसार पालिका भित्र मोतिवन्दुका कारण हुने अन्धोपन पहिचान तथा उपचार कार्यक्रम अनुसार हालसम्म ११ स्थानमा निशुल्क आँखा शिविर आयोजना गरिएको हो ।
वैशाख ११ गतेदेखि संचालित कार्यक्रममा नगरपालिकाको विभिन्न स्थानमा गरी ८ सय २४ जनाको निशुल्क आँखा परीक्षण गरिएको छ । त्यसमध्य हालसम्म ८४ जनामा मोतिविन्दु भेटिएको आँखा अस्पतालका प्रमुख डा.विष्णुहरि मरहठ्ठाले जानकारी दिए ।
उनका अनुसार मोतिविन्दु भएका बिरामीहरुको पनि निशुल्क शल्यक्रिया गर्ने कार्यक्रम अनुसार हालसम्म २१ जनाको निशुल्क मोतिविन्दुको शल्यक्रिया भईसकेको छ ।
शिविरमा मोतिविन्दु,जलविन्दु, दृष्टि दोष, आँखाका एलर्जी लगाएतका बिरामीहरु आँखा जाँच गर्न आएका डा.मरहठ्ठाले बताए । मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरुको थप आँखा परीक्षण गर्न अस्पतालमा बोलाईएको डा.मरहठ्ठाको भनाई छ ।
निजगढ नगरापलिका प्रमुख सुरथ पुरीले निजगढवासीहरुले यो महत्वपूर्ण कार्यक्रमको धेरै भन्दा धेरै फाईदा लिन र यो सम्बन्धि सूचनाहरु सम्प्रेषण गर्न नगरपालिकाका निकायहरुलाई निर्देशन दिए ।
कार्यक्रम अनुसार हालसम्म ५० प्रतिशत निशुल्क आँखा शिविर आयोजना भईसकेको छ । बाँकी स्थानमा पनि कार्यक्रम नियमित रुपमा भई रहेकोले यसलाई सम्पूर्ण नगरवासीहरुको समन्वयमा आँखाका कुनै बिरामी जाँच गर्न नछुटने वातावरण बनाउन अस्पताल व्यवस्थापक सुधिर श्रेष्ठले आग्रह गरे ।

