सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित कल्पवृक्ष होटल अगाडिबाट प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा वीरगन्ज र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले विशेष सूचनाको आधारमा हेटौँडा-वीरगन्ज सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-२ का ५५ वर्षीय खड्ग बहादुर मोक्तान र सोही जिल्ला साविक डाँडाखर्क गाविस-८ का ४९ वर्षीय लाल बहादुर स्याङतान रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट प्लास्टिकसहित ९४६ ग्राम र प्लास्टिक बाहेक ९४२ ग्राम अफिम फेला पारेको छ।
उक्त पदार्थ खड्ग बहादुरले लगाएको ट्रयाक सुटको खल्ती र लाल बहादुरले बोकेको निलो झोला भित्र लुकाएर राखिएको अवस्थामा फेला परेको थियो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरीले जनाएको छ ।
