वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले आगामी स्थानीय तहको निर्वाचनका लागि वीरगंज महानगरपालिका लगायत अन्य कुनै पनि पालिकामा हालसम्म उम्मेदवार तय नगरेको स्पष्ट पारेको छ।
रास्वपा पर्साका सचिव सुदीश प्रजापतिले शनिबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति तथा समूहहरूले सामाजिक सञ्जाल फेसबुक र टिकटक मार्फत आफूलाई रास्वपाको तर्फबाट मेयर तथा वडाअध्यक्षको उम्मेदवारका रूपमा प्रचार गरिरहेको पाइएपछि ध्यानकर्षण भएको जनाउदै यस्तो स्पष्टीकरण दिएको हो।
यस्ता भ्रामक र कपोलकल्पित प्रचारप्रसारमा विश्वास नगर्न आम सर्वसाधारणलाई रास्वपा पर्साले आग्रह पनि गरेको छ ।
विज्ञप्तिमा जनाइएअनुसार पार्टीले आधिकारिक रूपमा कसैलाई पनि उम्मेदवार निश्चित नगरेको अवस्थामा गरिएका यस्ता दाबीहरू पूर्णतः गलत र अनधिकृत रहेका छन्।
रास्वपा पर्साले आजैका मितिदेखि यस्ता खालका गलत क्रियाकलाप नगर्न र नगराउन सम्बन्धित पक्षलाई सचेत समेत गराएको छ। उम्मेदवारीका नाममा सामाजिक सञ्जालमा भइरहेका यस्ता गतिविधिबाट भ्रममा नपर्न र सजग रहन समेत पार्टीले जिल्लावासीलाई अनुरोध गरेको छ।
