जनकपुरधाम । मधेश प्रदेशसभामा १५ सिटसहित नेकपालाई चौथो ठूलो शक्ति बनेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको यो ऐतिहासिक मिलनले चौथो ठूलो दल बनेको हो।
मधेशको राजनीतिमा हिजोसम्म अलग–अलग अस्तित्वमा रहेका वामपन्थी शक्तिहरू आज एउटै झण्डामुनि गोलवद्ध भएका छन् । यो केवल अंकगणितीय खेल मात्र नभई विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा बलियो र भावनात्मक प्रयास पनि हो।
विगतका निर्वाचनमा छुट्टाछुट्टै संर्घष गरेका यी दलहरू एक ठाउँमा उभिँदा मधेशको सत्ता समीकरणमा नयाँ तरङ्ग पैदा भएको छ। विशेषगरी हिजोका दिनमा विभिन्न राजनीतिक आरोह–अवरोह खेपेका कार्यकर्ता र जनताका लागि यो एकताले एउटा नयाँ आशा र भरोसाको सञ्चार गराएको छ।
राजनीतिक विश्लेषणको दृष्टिकोणबाट हेर्दा यो एकताले मधेश प्रदेशमा त्रिशंकु संसदको अवस्थालाई थप रोचक बनाएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेसबाट रास्वपाले दुईवटा सिट बाहेक ३० वटा जितेपछि अब आउने निर्वाचनमा भने यी दलहरुलाई प्रदेशसभामा आफ्नो अस्तित्व जोगाउने चुनौती बढेको छ ।
यद्यपि अहिले भने एमाले, कांग्रेस र जसपा नेपाल जस्ता ठूला दलहरूबीचको शक्ति संघर्षमा १५ सिटसहितको नेकपा अब ‘किङ मेकर’ को भूमिकामा उदाएको छ।
भरतप्रसाद साह र रहबर अंसारीले प्रतिनिधिसभा निर्वाचनको चुनावी मैदानमा होमिनका लागि पद त्याग गरेपछि सिर्जना भएको रिक्ततालाई चिर्दै युवराज भट्टराईलाई संसदीय दलको नेता चयन गरिएको हो । यसअघि नेकपा माओवादी केन्द्र हुँदा पनि उनी उपनेता र केही समय संसदीय दलको नेताकै भूमिकामा थिए ।
यसले पार्टीभित्र पुस्तान्तरण र नयाँ नेतृत्वको उदयलाई संकेत गरेको छ । अहिले प्रदेश सरकारमा तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको यो शक्तिले आगामी दिनमा मधेशको विकास र स्थिरताका लागि कस्तो भूमिका खेल्छ भन्ने कुरा निकै अर्थपूर्ण रहनेछ।
१०७ सदस्यीय प्रदेशसभामा ५ सिट रिक्त रहेको वर्तमान अवस्थामा नेकपाको यो बलियो उपस्थिति मधेशको भविष्यको राजनीति तय गर्ने एउटा मुख्य कडी बन्ने निश्चित छ।
