काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीलाई अस्पताल बाहिर औषधि खरिद गर्न लगाउने स्वास्थ्य संस्थाहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।
केही अस्पतालले बिमाको प्याकेजभित्रै पर्ने औषधिहरू समेत बाहिरका पसलबाट महँगोमा किन्न लगाएको गुनासो आएपछि बोर्डले सबै अस्पताललाई परिपत्र गर्दै यस्तो कार्य रोक्न निर्देशन दिएको हो।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यसरी बीमितलाई सास्ती दिने अस्पताललाई स्वास्थ्य बिमा नियमावली २०७५ बमोजिम कारबाही गरिनेछ। हाल पाँच जनाको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान गरेबापत १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ।

