वीरगन्ज । नेपालको मुख्य आर्थिक प्रवेशद्वार तथा औद्योगिक राजधानीका रूपमा परिचित वीरगञ्जको प्रतिष्ठित व्यावसायिक संस्था, वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ५०औं वार्षिक साधारणसभा बिहीबार एक विशेष समारोह शुरू भएको छ ।
सङ्घका अध्यक्ष हरि गौतमले स्वागत मन्तव्य व्यक्त गर्दै वर्तमान समयमा मुलुकले भोगिरहेको चरम आर्थिक मन्दी र त्यसका कारण उद्योगी–व्यवसायीहरूले सामना गर्नुपरेका बहुआयामिक समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।
अध्यक्ष गौतमले आफ्नो सम्बोधनका क्रममा नेपालको वर्तमान अर्थतन्त्र हाल ‘बिरामी’ अवस्थामा पुगेको र यसको समयमै सही उपचार हुन नसके मुलुक थप सङ्कटमा फस्ने चेतावनी दिए। उनले अबका दिनमा टालटुले नीति वा अल्पकालीन समाधानले मात्रै अर्थतन्त्रलाई सही दिशामा ल्याउन नसकिने बताउँदै सरकारले निर्मम भएर समग्र आर्थिक नीतिको सिंहावलोकन गर्नुपर्नेमा जोड दिए।
विशेषगरी तराईका औद्योगिक कोरिडोरमा रहेका उद्योगहरूको अवस्था दयनीय बन्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
अध्यक्ष गौतमका अनुसार, विगत केही वर्षदेखि उद्योगहरूको उत्पादन क्षमता ३० देखि ३५ प्रतिशतमा मात्र सीमित हुन पुगेको छ। कतिपय उद्योगहरू त केवल बैंकको ब्याज तिर्न र आफ्नो अस्तित्व जोगाउनका लागि मात्रै जेनतेन सञ्चालन भइरहेको उनको दाबी छ।
सरकारले स्वदेशी उद्योगहरूलाई संरक्षण गर्ने र वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने खालका स्पष्ट ऐन, कानुन र स्थिर नीतिहरू ल्याउन नसक्दा लगानीकर्ताहरूमा निराशा छाएको उनले बताए । कठोर श्रम ऐन, झन्झटिलो प्रशासनिक प्रक्रिया र अव्यवहारिक कानुनी व्यवस्थाका कारण वैध कारोबार गर्नेहरू मारमा परेको र यसले गर्दा अवैध कारोबारले प्रश्रय पाउन थालेको भन्दै अध्यक्ष गौतमले यस्ता बाधक नीतिहरूको तत्काल संशोधन वा खारेजीको माग गरे।
सङ्घले आफ्नो ८२ वर्ष लामो ऐतिहासिक यात्रामा निजी क्षेत्रको हकहितका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै अध्यक्ष गौतमले संस्थाभित्र भएका आन्तरिक सुधारका उपलब्धिहरू पनि सभामा प्रस्तुत गरे।
विगतका वर्षहरूमा घाटामा रहेको सङ्घको वासलातलाई यस वर्ष नाफामा लैजान सफल भएको जानकारी दिँदै उनले कर्मचारी व्यवस्थापनमा सुधार र वित्तीय अनुशासनलाई कडाइका साथ लागू गरिएको बताए। संस्थालाई अझ बढी गतिशील र समयसापेक्ष बनाउनका लागि विधान संशोधनको प्रक्रियालाई समेत अगाडि बढाइएको जानकारी उनले दिए।
कार्यक्रममा सङ्घले अघि सारेका नवप्रवर्तनका योजनाहरूका बारेमा पनि विस्तृत चर्चा गरिएको थियो। वीरगञ्जलाई केवल आयात–निर्यातको केन्द्र मात्र नभई उद्यमशीलताको नयाँ हब बनाउने उद्देश्यले ‘स्टार्टअप र इनोभेशन सेन्टर’ स्थापना गर्ने ऐतिहासिक निर्णय भएको र यसले स्थानीय युवाहरूलाई रोजगारी खोज्ने मात्र नभई आफैं रोजगारी सिर्जना गर्ने दिशामा प्रेरित गर्ने विश्वास अध्यक्ष गौतमले व्यक्त गरे।
त्यस्तै, महिला सशक्तीकरणका लागि आयोजित राष्ट्रिय महिला सम्मेलन र हाल सञ्चालन भइरहेको गार्मेन्ट सिलाई तालिम जस्ता कार्यक्रमहरूले सामाजिक उत्तरदायित्व र आर्थिक विकासलाई एकसाथ जोड्न सफल भएको उनको तर्क थियो।
अध्यक्ष गौतमले आगामी बजेटमार्फत सरकारले मुलुकको मानव पुँजीलाई स्वदेशमै सदुपयोग गर्ने ठोस वातावरण निर्माण गर्नेमा आफूहरू विश्वस्त रहेको बताए। उनले ५०औं साधारणसभाबाट पारित हुने आर्थिक तथा नीतिगत प्रस्तावहरूलाई सरकारले गम्भीरतापूर्वक लिई बारा–पर्सा क्षेत्रका गौरवका आयोजना र विकास निर्माणका कार्यहरूलाई शीघ्र अघि बढाउन विशेष आग्रह गर्दै आफ्नो मन्तव्य टुङ्ग्याएका थिए।
साधारणसभाकाे उद्घाटन सत्र अहिले चलिरहेको छ । उद्घाटन सत्रकाे प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वराज पाैडेलले पानसमा दीप प्रज्जवलन गरेर गरेका थिए।
