काठमाडौं । मध्यपूर्वी देशहरूमा बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको छ। परराष्ट्र मन्त्रालयले हालै एक पत्रकार सम्मेलन गर्दै प्रभावित क्षेत्रका लागि औपचारिक ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ।
संकटको समयमा नेपालीहरूको अवस्था छिटो पहिचान गर्न कन्सुलर सेवा विभागले अनलाइन रजिस्ट्रेसन प्लेटफर्म र मोबाइल एप विकास गरिरहेको छ। यसले उद्धार कार्यलाई व्यवस्थित बनाउने विश्वास गरिएको छ। मन्त्रालयले २४ सै घण्टा सञ्चालन हुने गरी कन्सुलर रेस्पोन्स हटलाइन स्थापना गर्ने तयारी अघि बढाएको छ।
परराष्ट्र सचिवको संयोजकत्वमा विभिन्न मन्त्रालय र सुरक्षा निकाय सम्मिलित ‘बहु-सरोकारवाला आपतकालीन उद्धार टोली’ गठन प्रक्रिया सुरु भएको छ।
मध्यपूर्वमा हाल करिब १७ लाख २९ हजार नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क छ। परिस्थिति थप जटिल बनेमा सरकारले केही समयका लागि नयाँ श्रम स्वीकृति (Labor Permit) र एनओसी (NOC) जारी गर्ने कार्य स्थगित गर्न सक्ने संकेत समेत दिएको छ।
परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका सबै नेपालीलाई आफ्नो सम्बन्धित दूतावासको सम्पर्कमा रहन र आधिकारिक सूचनालाई मात्र आधार मान्न आग्रह गरेको छ।
