वीरगंज । आगामी निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अमिताभ बच्चन दासले आफ्नो चुनावी अभियानलाई तीव्र पार्नुभएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार दासले आज वीरगंज महानगरपालिका वडा नम्बर ९ र १० मा स्थानीय जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
जनताको उत्साहजनक समर्थन घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार दासलाई भव्य स्वागत गरेका थिए। भेटघाटका क्रममा मतदाताहरूले यसपटक परिवर्तनका लागि ‘आँखा’ चिह्नमा मतदान गर्ने बाचा समेत गरेका छन्। स्थानीयले उम्मेदवारलाई जितेर गएपछि पनि आजको जस्तै सधैं जनताको सुख-दुःखमा साथै रहन र नियमित भेटघाट जारी राख्न महत्वपूर्ण सुझाव दिएका थिए।
विकास र समृद्धिको प्रतिबद्धता जनताको गुनासो र सुझाव सुन्दै उम्मेदवार अमिताभ बच्चन दासले आफ्नो क्षेत्रको विकासका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुभयो। उहाँले निर्वाचन क्षेत्र नम्बर २ मा निम्न लिखित कार्यहरू प्राथमिकताका साथ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो:
क्षेत्रमा उद्योगमैत्री वातावरण सिर्जना गरी युवाहरूका लागि रोजगारीका अवसरहरू बढाउने। गुणस्तरीय सडक निर्माण र व्यवस्थित बिजुलीको पहुँच सुनिश्चित गर्ने। प्रत्येक घरधुरीमा शुद्ध खानेपानीको व्यवस्थाका लागि प्रभावकारी पहल गर्ने।
भेटघाट कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। ‘आँखा’ चिह्न लिएर चुनावी मैदानमा उत्रिनुभएका दासले आफू जनताको सेवक भएर काम गर्ने अठोट व्यक्त गर्नुभएको छ।
