काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको आयात घटाउन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीतिलाई अन्तिम रूप दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार ‘पेट्रोलमा इथानोल मिसाउने आदेश–२०८२’ स्वीकृत भइसकेको छ र यो शीघ्र राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आउनेछ।
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउँदा नेपालबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिनबाट जोगिने र व्यापार घाटा कम गर्न मद्दत पुग्ने मन्त्री अनिलकुमार सिन्हाले दाबी गर्नुभएको छ। यो नीतिले उखु खेती गर्ने किसानहरूलाई प्रोत्साहन गर्ने, कृषि भूमिको उपयोग बढ्ने र आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउने विश्वास लिइएको छ।
नेपाल आयल निगमका अनुसार गुणस्तर मापदण्ड तय गर्ने र उत्पादनका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाइएको छ। पूर्ण कार्यान्वयनमा आउन करिब एकदेखि डेढ वर्ष लाग्न सक्ने अनुमान छ। निजी क्षेत्रका चिनी उत्पादकहरूले इथानोल उत्पादनका लागि कच्चा पदार्थ पर्याप्त भए पनि स्पष्ट कार्यविधि र लगानीमैत्री वातावरणको आवश्यकता रहेको औंल्याएका छन्।
दुई दशकदेखिको अध्ययन र छलफलपछि कार्यान्वयनको चरणमा पुगेको यो नीतिलाई नेपालको ऊर्जा क्षेत्रमा एक महत्त्वपूर्ण र स्वच्छ ऊर्जातर्फको कदम मानिएको छ।
