अछाम । लामो समय नेकपा (एमाले) को नेतृत्व तहमा रहेका र हालै सो पार्टीबाट निष्कासित नेता भीम रावलले एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा पूर्ण रूपमा ग्रहण लागेको टिप्पणी गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि अछाम क्षेत्र नं. १ बाट उम्मेदवार बनेका रावलले चुनावी प्रचारका क्रममा यस्तो कटाक्ष गरेका हुन्।
गृहजिल्ला अछाममा मतदातासँगको संवादका क्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कडा प्रहार गरे। पुराना मतदाताले सूर्य चिन्ह र एमालेको अवस्थाबारे सोधेको प्रश्नको जवाफ दिँदै रावलले भने, “सूर्यमा पूरै ग्रहण लाग्यो, के गर्नु त? यो पार्टी र चिन्ह बनाउने त हामी हौं, मैले नै नेतृत्व गरेको हो। तर अहिले केपी ओलीले यसलाई काम नलाग्ने खरानी बनाए।”
तारा चिन्हमा भोट हाल्न आग्रह एमालेबाट निष्कासनमा परेपछि २५ वटा साना राजनीतिक घटकहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका रावलले अब आफ्नो राजनीतिक गन्तव्य फेरिएको स्पष्ट पारे। उनले मतदाताहरूलाई सम्बोधन गर्दै भने, “हामीले अब नयाँ शक्ति निर्माण गरेका छौं। त्यसैले अब सूर्य होइन, ‘तारा’ चिन्हमा मतदान गरेर हामीलाई विजयी गराउनुहोस्।”
रोचक बन्दै अछाम-१ को चुनावी भिडन्त २०७९ को निर्वाचनमा टिकट नपाएका र पछि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका रावल यसपटक एमालेका विरुद्ध नै चुनावी मैदानमा उत्रिएका छन्। रावलको उम्मेदवारीले एमालेलाई अछाममा ठूलो दबाब सिर्जना गरेको छ।
रावलले अछामी भाषामै मतदातासँग कुरा गर्दै आफू देशको नेतृत्व गर्न सक्षम रहेको र अछामको विकासका लागि आफ्नो जीत अनिवार्य रहेको दाबी समेत गरिरहेका छन्। एमालेको बलियो संगठन र रावलको व्यक्तिगत प्रभावबीच हुने यो प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
