वीरगञ्ज । साहित्यकार एवं पत्रकार मुकुन्द आचार्यलाई ‘बिहारीलाल लाठ कर्मवीर सम्मान’ प्रदान गरिएको छ। विगत पाँच दशकदेखि नेपाली तथा भोजपुरी भाषा–साहित्य, शिक्षण र पत्रकारिता क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै ८३ वर्षीय आचार्यलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गरिएको हो।
रिलिफ सोसाइटी अफ कमर्सका संस्थापक महासचिव तथा पूर्व अध्यक्ष स्वर्गीय बिहारीलाल लाठको १४औँ पुण्यतथिको अवसरमा बुधबार वीरगञ्जमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्य, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतम र रिलिफ सोसाइटी अफ कमर्सका अध्यक्ष योगेन्द्र प्रसाद यादवले संयुक्त रूपमा आचार्यलाई सम्मान अर्पण गरेका थिए ।
सम्मान ग्रहण गर्दै आचार्यले राज्य पुग्न नसकेको ठाउँमा सामाजिक संस्थाहरूले यस्तो सक्रियता देखाउनु सकारात्मक भएको र यसले आफूलाई थप ऊर्जा प्रदान गरेको बताए । सोही अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने अन्य पाँच व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ।
सम्मानित हुनेहरूमा जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियार, योग प्रशिक्षक रामप्रसाद पण्डित, विमान चालक सौरभ रौनियार, महिला उद्यमी दीप्ति धुरका र शिक्षिका डा. नेहा अग्रवाल रहेका छन् ।
समारोहमा राधा देवी बृजलाल लाठ ट्रष्टका तर्फबाट पर्सा र बाराका ११ जना असहाय तथा विपन्न महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सिलाइ मेसिन समेत वितरण गरिएको थियो। ट्रष्टले २०६९ सालदेखि हालसम्म करिब २०० वटा सिलाइ मेसिन वितरण गरिसकेको जानकारी अध्यक्ष योगेन्द्र प्रसाद यादवले दिए ।
कार्यक्रममा रिलिफ सोसाइटी अफ कमर्सका सल्लाहकार गणेश प्रसाद लाठले संस्थाले २०४८ सालदेखि नै उद्योगी व्यवसायीहरूलाई कर, राजस्व र भन्सार सम्बन्धी परामर्श दिनुका साथै निःशुल्क कानको अपरेसन जस्ता स्वास्थ्य सेवा र रिक्सा वितरण जस्ता सामाजिक कार्य गर्दै आएको स्मरण गराए ।
चिकित्सक डा। रामजी राम लगायतका वक्ताहरूले सामाजिक क्षेत्रमा अनवरत खट्ने व्यक्तित्वहरूलाई खोजी–खोजी सम्मान गर्ने यो परम्पराले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
