वीरगञ्ज। आगामी निर्वाचनको सरगर्मी बढेसँगै पर्सा क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार अमिताभ बच्चन दासले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ। “परिवर्तनका लागि युवा र भरोसाको केन्द्र” भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिनुभएका दासले आज पर्सागढी नगरपालिकाका विभिन्न वडाहरूमा भव्य घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ।
उम्मेदवार दास नेतृत्वको टोलीले आज पर्सागढी नगरपालिका वडा नम्बर ३ औरहिया र बढनिहारका टोल-टोलमा पुगेर स्थानीय जनसमुदायसँग प्रत्यक्ष संवाद गरेको छ। घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले युवा उम्मेदवारलाई उत्साहजनक स्वागत गर्दै यसपटक परिवर्तनका लागि ‘आँखा’ छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटघाटका क्रममा स्थानीय वृद्धवृद्धा तथा युवाहरूले उम्मेदवार दासलाई जीतको शुभकामना दिँदै एउटा विशेष सुझाव समेत दिएका छन्। उनीहरूले भने, “चुनाव जितेर गएपछि पनि आज जसरी नै सधैँ जनताको सुख-दुःखमा साथै रहनुहोला र नियमित भेटघाट जारी राख्नुहोला।”
जनसमुदायलाई सम्बोधन गर्दै उम्मेदवार अमिताभ बच्चन दासले पर्सा जिल्लाको आर्थिक र सामाजिक कायापलट गर्ने आफ्नो योजना अघि सार्नुभयो। उहाँले पर्सालाई ‘कृषि र व्यापारिक हब’ को रूपमा विकास गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो।
उम्मेदवार दासले आधुनिक कृषिमार्फत किसानको आयस्तर वृद्धि गर्ने, व्यापारिक पूर्वाधारको विकास गरी रोजगारीका अवसरहरू सिर्जना गर्ने र भ्रष्टाचारमुक्त प्रशासन र युवा नेतृत्वको सुनिश्चितता गर्ने मुख्य प्रतिबद्धताहरू दिनु भयाे।
नयाँ पार्टी र युवा जोसका साथ चुनावी मैदानमा आउनुभएका दासको पक्षमा जनलहर बढ्दै गएको स्थानीय कार्यकर्ताहरूको दाबी छ।
