रुकुम (पूर्व) । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा सशस्त्र विद्रोहको नेतृत्व गरेको भूमि रुकुमबाटै अब विकास र समृद्धिको नयाँ युग सुरुवात गर्ने उद्घोष गरेका छन्।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२ कोलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले रुकुमको माटोबाटै समृद्धिको अभियानलाई देशभर फैलाउने बताए। प्रतिनिधिसभा निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवारी दिएका उनले दलित र मगर समुदायको बाहुल्य रहेको यस क्षेत्रको कायापलटका लागि विशेष योजना ल्याउने प्रतिबद्धता जनाए।
मगर र दलित समुदायको अधिकारका लागि आफू सधैँ लड्दै आएको चर्चा गर्दै प्रचण्डले दलित समुदायको सर्वाङ्गीण विकासका लागि ‘शक्तिशाली दलित विकास प्राधिकरण’ निर्माण गर्ने घोषणा गरे।
“मैले प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेको थिएँ, तर सरकार ढलेका कारण त्यो काम पूरा हुन सकेन,” प्रचण्डले भने, “अब म यसै क्षेत्रको उम्मेदवार भएको नाताले दलित समुदायको विकासका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउनेछु।”
उनले दलित बाहुल्य क्षेत्रलाई ‘संरक्षित क्षेत्र’ घोषणा गरी सो समुदायलाई विशेष अधिकार र अवसर दिलाउने योजना समेत अघि सारे।
भौगोलिक रूपमा विकट मानिने रुकुम पूर्वलाई सडक सञ्जालसँग जोड्न आफू गम्भीर रहेको उनले बताए। उनले शहीद मार्गको स्तरोन्नति र अन्तर-जिल्ला जोड्ने सडक योजनालाई प्राथमिकतामा राखेका छन्। तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्डको निर्माण कार्य छिचोलेर आवतजावत सहज बनाउने। यी सडक सञ्जालले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन र पर्यटन प्रवर्द्धनमा मद्दत गर्ने। ‘संविधानको रक्षा र समृद्धिको नयाँ अभियान’
जनयुद्धबाटै संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान सम्भव भएको स्मरण गर्दै उनले संविधानले दिएका अधिकारहरूलाई व्यवहारमा उतार्न अब समृद्धिको लडाइँ लड्नुपर्ने बताए। “संविधानले दलित, जनजाति र उत्पीडितलाई अधिकार दिएको छ, अब त्यसको जगमा उभिएर यो क्षेत्रबाट समृद्धिको नयाँ अभियान चलाउनुपर्छ,” उनले थपे।
