वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयको मूल गेटमा अहिले मानिसहरूको अनियन्त्रित भीड देखिन्छ। छिमेकी भारतीय सहर रक्सौलमा किनमेल गरेर फर्कने नेपालीहरूको यो लर्कोले मुलुकको अर्थतन्त्र र आसन्न निर्वाचनको विरोधाभासपूर्ण तस्बिर छर्लङ्ग पारेको छ।
नेपालमा चुनावको माहोल तातिरहेको छ र उम्मेदवारहरू भ्रष्टाचारको अन्त्य, सुशासन, नयाँ पुस्ताका माग सम्बोधन गर्नेदेखि अमूक व्यक्तिलाई प्रधानमन्त्री बनाउनेसम्मका रटान लगाउँदै मतदाताको दैलोमा पुगिरहेका छन्। तर विडम्बना के छ भने, भन्सार नाकामा देखिएको यो भीड तिनै उम्मेदवारहरूले चुनावमा खर्च गर्ने र मतदाता प्रभावित पार्ने सामग्री भित्र्याउन व्यस्त छ।
आफ्नो कुनै उत्पादनमूलक उद्योग, व्यवसाय वा ठोस पेशा नभएका उम्मेदवारहरूले चुनाव जित्नकै लागि लाखौँ रुपैयाँ खर्च गरिरहेका छन्। नेपालीहरूको मुख्य किनमेल बजार बनेको रक्सौलमा नेपाल-भारत बीचको स्थिर मुद्रा विनिमय दरलाई समेत निर्वाचनको चटारोले चुनौती दिएको छ।
सरकारी दर अनुसार १०० भारतीय रुपैयाँको १६० नेपाली रुपैयाँ हुनुपर्नेमा अहिले रक्सौलका बजारमा १६४ रुपैयाँसम्म तिर्न नेपालीहरू बाध्य छन्। यसले नेपाली मुद्रा बाहिरिने मात्र नभई स्वदेशी रुपैयाँको अवमूल्यन समेत गराइरहेको छ।
प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूले मुलुकको आर्थिक नीति, विदेश नीति र व्यावसायिक वातावरणका विषयमा नीतिगत बहस गर्नुपर्ने हो।
उनीहरू नीति निर्माण गर्ने थलोमा चुनिएर जाने प्रतिनिधि भए पनि कृषि क्षेत्रका जल्दाबल्दा समस्या जस्तै बीउबिजनको अभाव, मलखादको समस्या र सिँचाइको अभाव जस्ता विषयमा उनीहरू मौन देखिन्छन्।
मतदाताहरू पनि दीर्घकालीन समाधान खोज्नुको सट्टा तत्कालको गर्जो टार्ने र क्षणिक आश्वासनमा अल्झिँदा वीरगन्ज नाकाको यो परनिर्भर दृश्यले नेपालको वास्तविक आर्थिक अवस्थालाई गिज्याइरहेको छ।
