वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मुख्य व्यापारिक केन्द्र आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी र वीरगन्ज भन्सार कार्यालयको टोलीले छापा मारेको छ।
राजस्व छलीको आशंकामा गरिएको उक्त छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप हुँदा एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगन्ज भन्सारका सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा आदर्शनगरको एक गोदाममा टोली पुगेको थियो।
टोलीले गोदाममा खानतलासी सुरु गरेपछि स्थानीय व्यापारीहरूले त्यसको विरोध गरेका थिए। व्यापारीहरूले आफूसँग सामानको स्पष्ट बिलबिजक भएको दाबी गर्दै सशस्त्र प्रहरीले विनाकारण जबरजस्ती गरेर दुःख दिएको आरोप लगाएका छन्।
सोही क्रममा आक्रोशित व्यापारीहरूको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ। आक्रमणबाट घाइते भएका सुरक्षाकर्मीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। व्यापारीले प्रहार गरेको ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरी चढेको गाठीको अगाडिको सिसा पनि फुटेको छ ।
सशस्त्र प्रहरीले उक्त गोदामबाट उल्लेख्य मात्रामा सामान नियन्त्रणमा लिएको भए पनि त्यसको विस्तृत विवरण र परिमाण आउन अझै बाँकी रहेको जनाएको छ।
‘अहिले हामी सामानको लगत लिने र मुचुल्का उठाउने काम गरिरहेका छौँ। गोदाम कसको हो भन्नेबारे पनि स्पष्ट भइसकेको छैन, हामी अनुसन्धान गर्दैछौँ’ प्रहरी नायव उपरीक्षक विकास अधिकारीले भने ।
यता व्यापारीहरूले भने राज्यले वैध रूपमा व्यवसाय गर्नेहरूलाई पनि तस्करको शैलीमा व्यवहार गरेको भन्दै असन्तुष्टि पोखेका छन्। बिलबिजक देखाउँदा देखाउँदै पनि सामान नियन्त्रणमा लिन खोजेपछि स्थिति नियन्त्रण बाहिर गएको उनीहरूको भनाइ छ।
अहिले आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीले बताएका छन्।
