सप्तरी । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन्।
प्रहरीका अनुसार वनभोज (पिकनिक) खान गएका बालकहरूले खोलाको किनारमा फेला पारेको खेलौना जस्तो देखिने अपरिचित वस्तुसँग खेल्ने क्रममा विस्फोट भएको हो। प्रारम्भिक जानकारी अनुसार बालकहरूले उक्त वस्तुलाई खाना पकाउन बालिएको चुल्हो नजिक राखेका थिए। चुल्होको ताप वा असावधानीका कारण अचानक विस्फोट भएको प्रहरीको अनुमान छ।
विस्फोटमा परी छर्रा लागेर साहस मगर (११), प्राशिस थापा मगर (९), कविर थापा मगर (१६) र सुरज विक (१३) घाइते भएका छन्। घाइते सबै रुपनी गाउँपालिका–६ का स्थानीय बासिन्दा हुन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता डम्बरबहादुर पुरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
उनका अनुसार, “उक्त वस्तु बम हुनसक्ने आशंका गरिएको छ। घटना कसरी र कुन परिस्थितिमा भयो भन्ने विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौँ।”
घटनापछि प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ। साथै, स्थानीय बासिन्दालाई शंकास्पद वा अपरिचित वस्तु देखिएमा नछुन र तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।
