वीरगन्ज । वीरगन्जको बौद्धिक जगतमा एउटा फरक रौनक छाएको छ । लायन्स क्लबका विभिन्न ६ वटा शाखाहरूको संयुक्त आयोजनामा सञ्चालित अन्तर–कलेज वादविवाद प्रतियोगिताको फाइनलमा वीरगन्ज कलेजका विद्यार्थी विजयी भएका छन् ।
“सामाजिक सञ्जाल तथा एआई को बढ्दो प्रयोग—सृजनशील कि दुरुपयोग ?” भन्ने विषयमा भएको वादविवाद प्रतियोगितामा वीरगन्ज कलेजका सुरज मुखिया विजयी भएका हुन् । अत्यन्तै सान्दर्भिक र चुनौतीपूर्ण विषयमा भएको यस प्रतिस्पर्धाले युवा विद्यार्थीहरूको तार्किक क्षमता र प्रविधिप्रतिको गहिरो बुझाइलाई प्रस्फुटन गराएको छ ।
वीरगन्जका प्रतिष्ठित १२ कलेजका प्रतिभाहरू सहभागी भएको यस प्रतियोगितामा कडा प्रतिस्पर्धाका बीच पुरुषतर्फ वीरगन्ज कलेजका सुरज मुखिया र महिलातर्फ हरिखेतान क्याम्पसकी आदिती महत विजेता बन्न सफल भएका छन् ।
आफ्नो तर्कशक्ति र वाककलाले निर्णायकको मन जित्न सफल उनीहरूले वर्तमान समयमा प्रविधिको सही प्रयोग नै मानवीय प्रगतिको आधार भएको धारणा राख्नुभएको थियो। त्यस्तै, उपविजेताका रूपमा पुरुषतर्फ हरिखेतान क्याम्पसका चन्द्रकान्त महत्तो थारु र महिलातर्फ ज्ञान्दा एकेडेमीकी स्नेहा सरार्फले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
प्रोग्राम चेयरपर्सन तथा लायन्स क्लब अफ वीरगन्ज परिवारका अध्यक्ष नरोत्तम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिस्ट्रीक ३२५–एस नेपालका प्रथम भाइस डिष्ट्रिक गभर्नर राम बिहारी पाण्डेको प्रमुख अतिथ्यातामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले विद्यार्थी जीवनमा यस्ता रचनात्मक क्रियाकलापले व्यक्तित्व विकासमा ठोस मद्दत पुग्ने बताए । विशिष्ट अतिथिका रूपमा उपस्थित द्वितीय भाइस डिष्ट्रिक गभर्नर अंकिता सुमार्गी, पूर्व डिष्ट्रिक गभर्नर देवकी नन्दन अग्रवाल लगायतका वक्ताहरूले सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई सिर्जनात्मक कार्यमा लगाउनुपर्नेमा जोड दिएका थिए ।
लायन्स क्लब अफ वीरगन्ज परिवार, सेन्ट्रल सिटी, मेट्रो सिटी, फ्रेन्डजोन, कुटुम्ब र एक्सिलेन्सको यो संयुक्त प्रयासलाई वीरगन्जको शैक्षिक क्षेत्रले निकै महत्वका साथ हेरेको छ । प्राध्यापक डा. बासु कर्ण, उद्योग वाणिज्य संघका मनोज उपाध्याय, र जेसिसका पूर्व अध्यक्ष सरोज चौरसीया लगायतका व्यक्तित्वहरूको गरिमामय उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो ।
