वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले संगठन सुदृढीकरण र आगामी निर्वाचनको रणनीति तय गर्न क्षेत्र नम्बर १ का सक्रिय सदस्यहरूसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूलाई विजयी गराउन खेल्नुपर्ने भूमिका र आवश्यक रणनीतिबारे गहन छलफल भएको थियो। सहभागी सदस्यहरूले पार्टीको प्रभावकारिता बढाउन विभिन्न दृष्टिकोण र सुझावहरू प्रस्तुत गरेका थिए।
सम्बोधनका क्रममा रास्वपा पर्साका सभापति एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार हरि पन्तले आगामी फाल्गुन २१ गते नेपाली जनताले वर्षौंदेखिको भ्रष्टाचार, कुशासन, अनियमितता र नातावाद विरुद्ध ब्यालेट (मतदान) मार्फत सशक्त जवाफ दिने दाबी गरे।
उनले भने, ‘कार्यकर्ताको यो उत्साहले जनता परिवर्तनको पक्षमा छन् भन्ने देखाउँछ। हामीले अब टोल–टोलमा पुगेर सुशासनको एजेन्डा स्थापित गर्नुपर्छ।’
पन्तले कार्यकर्ताहरूबाट आएका जायज सुझावहरूलाई पार्टीले आत्मसाथ गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। उनले सदस्यहरूको बाक्लो उपस्थितिले पार्टीलाई थप हिम्मत र ऊर्जा प्रदान गरेको बताउँदै पर्सामा रास्वपाको जित सुनिश्चित रहेको उद्घोष गरे।
कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या, नेता फैयाद मिया लगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।
महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सह-सचिव कृष्ण पास्वानले गरेका थिए। कार्यक्रममा सयौंको संख्यामा रास्वपाका शुभेच्छुक तथा सक्रिय सदस्यहरूको सहभागिता रहेको थियो।

